नयाँ पाठ्यक्रमको तयारी

१८ पौष, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले यसै शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम लागु गर्ने भएको छ । यसका लागि विभागले तयारी सुरु गरिसकेको छ । विभाग भर्खरै मात्र केन्द्रीय विभागमा स्तरोन्नति भएको हो । विभागले आयोजना गरेको पाठ्यक्रम निर्माणसम्बन्धी परामर्श बैठकमा मानविकी तथा सामाजिक शास्त्र सङ्कायका चार जना पूर्वडिनले नयाँ पाठ्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।

बैठकमा त्रिविका पूर्वनिमित्त उपकुलपति एवं मानविकी तथा सामाजिक शास्त्र सङ्कायका पूर्वडिन प्राडा. शिवलाल भुसाल, पूर्वडिनहरू प्राडा रमेशराज कुँवर, प्राडा. नवराज कणेल र प्राडा. कुसुम शाक्यले स्थापनादेखि नै द्वन्द्व, शान्ति र विकास अध्ययन विभागको पाठ्यक्रम समयानुकूल र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो र अनुसन्धानमुखी रहेको बताउनुभयो ।

पूर्वनिमित्त उपकुलपति भुसालले भन्नुभयो, “विश्वविद्यालयले श्रम बजार केन्द्रित कार्यक्रम तर्जुमा गर्ने बेला आएको छ । अहिले द्वन्द्वका आयाम फेरिएका छन् । अब द्वन्द्व, शान्ति र विकास विषयको प्राज्ञिक पहिचान स्थापित गर्ने बेला आएको छ । दिगो विकासको अवधारणा सँगसँगै मौलिक ज्ञान प्रणालीको प्रयोग गर्दै अघि बढ्ने बेला आएको छ ।’’

पूर्वडिन कणेलले उच्च शिक्षामा अध्ययन, अध्यापन र अनुसन्धानसमेत गरी तीन वटा खम्बा रहेको बताउँदै विश्वविद्यालय शिक्षाले अनुसन्धानको पाटोलाई जोड दिनुपर्ने बताउनुभयो ।

पूर्वडिन कुँवरले ज्ञान र प्रविधिबिचमा रहेको खाडललाई पुर्न सक्ने पाठ्यक्रम आजको आवश्यकता रहेको बताउनुभयो । पूर्वडिन शाक्यले नयाँ पाठ्यक्रम बनाउँदा सिक्दै कमाउँदैको अवधारणा लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

द्वन्द्व, शान्ति र विकास अध्ययन विभागका प्रमुख डा. पीताम्बर भण्डारीले द्वन्द्व, शान्ति र विकासका बहुआयामिक पक्षहरू समेट्दै नयाँ पाठ्यक्रम बनाइने बताउनुभयो । जलवायु न्याय, द्वन्द्व समाधान र कूटनीति, रणनीतिक अध्ययन र अन्तर्राष्ट्रिय सम्बन्ध एवं अर्थ राजनीतिका सम्बन्धमा नयाँ विषय स्नातकोत्तर तहमा अध्यापन हुने उहाँले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours