१५ पुस, बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
सम्मेलनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न हरेक जीवजन्तु, जैविक विविधता र पर्या पर्यटनको संरक्षण अपरिहार्य भएको बताए ।
मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।
उनले प्राणीशास्त्रका खोज अनुसन्धानकर्ताहरुको खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउने प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेश जैविक विविधताले धनी रहेको उल्लेख गर्दै लोपोन्मुख जीवजन्तुलाई बचाइराख्न जरुरी रहेकोमा उनको जोड थियो । ‘मानव जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ´, मुख्यमन्त्री आचार्यले भने, ‘विकास र समृद्धिको आधारको रुपमा वातावरणीय क्षेत्र लाई स्वीकार गरी यसको संरक्षण र मितव्ययी सदुपयोगमा संवेदनशील हुनुपर्छ ।’
प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जूलोजिकल सोसाइटीको संयुक्त आयोजनामा भएको सम्मेलनले प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने नेपाल जुलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव वन्यजन्तु द्वन्द र न्यूनीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता रहेको छ ।
+ There are no comments
Add yours