१५ पुस, काठमाडौं । दर्शकले हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘ब्याटम्यान’का लागि सन् २०२७ सम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । यसअघि २६ अक्टोबर २०२६ मा आउने तयारीमा रहेको फिल्मको प्रदर्शन मिति सरेको हो ।
हलिउड स्टुडियो वार्नर ब्रदर्सले यो फिल्म १ अक्टोबर २०२७ मा आउने जनाएको छ । ‘ब्याटम्यान’को पूर्वनिर्धारित मितिमा अब भने टम क्रुज अभिनित र अस्कर विजेता निर्देशक अलेजान्द्र इनारितुको फिल्म आउने पक्का भएको छ । नाम तय भइनसकेको यो फिल्म २ अक्टोबर २०२६ मा आउने वार्नर ब्रदर्सले जनाएको छ ।
अन्य केही फिल्मको रिलिज मिति पनि हेरफेर भएको छ । टम र इनारितुको फिल्मबारे धेरै बताइएको छैन, तर वार्नर ब्रदर्सले जारी गरेको आधिकारिक लगलाइन अनुसार यो एक एक्सन एड्भेन्चर फिल्म हुनेछ ।
‘विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिले संसार नष्ट हुनुअघि आफू मानवीयताको संरक्षणकर्ता हो भनेर पुष्टि गर्ने मिसनमा अघि बढ्नुपर्छ,’ लगलाइनमा उल्लेख छ । अन्य स्टार कास्टमा सान्ड्रा हलर, जोन गुडम्यान, माइकल स्टुहलबर्ग, जेसी प्लेमन्स, सोफी वाइल्ड र रिज अहमद समावेश छन् ।
‘ड्युन’ निर्माता कम्पनी लिजेन्डरी इन्टरटेनमेन्टले फिल्मको निर्माण गर्दैछ । ‘मिसन : इम्पोसिबल’ र ‘टप गन : माभेरिक’जस्ता परम्परागत एक्सन फिल्ममा व्यस्त टमको लागि यो भिन्न चरित्र चित्रण हो ।
इनारितुले यसअघि ‘बर्डम्यान’ र ‘द रेभेनन्ट’बाट अस्कर अवार्ड जितेका छन् ।
+ There are no comments
Add yours