एक हजार विदेशीलाई श्रम स्वीकृति

१५ पुस, काठमाडौँ । औसतमा दैनिक दुई हजार १३ जना नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेलामा नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ९६६ विदेशी नागरिकलाई काम गर्ने अनुमति (श्रम स्वीकृति) दिएको छ । नेपालमा दक्ष जनशक्ति नपाएको अवस्थामा विदेशी राख्न पाउने कानुनी व्यवस्था छ ।

विदेशी लगानीमा निर्माण भइरहेका परियोजनामा काम गर्न विदेशी आउने गरेका छन् । विभागका निर्देशक मणिनाथ गोपले चालु आवको पाँच महिनामा श्रम स्वीकृति लिने विदेशी श्रमिक गत आवको सो अवधिमा भन्दा केही बढेको जानकारी दिनुभयो । गत आव २०८०/८१ को मङ्सिरसम्म नवीकरण र नयाँ गरी ९५९ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । चालु आवमा नयाँ श्रम स्वीकृति र नवीकरण गर्नेको सङ्ख्या ९६६ रहेको छ । यो हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष सात जनाले बढी छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेका छन् ।

विभागका अनुसार एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । विभागका अनुसार रसुवागढी, त्रिशूली, मध्य भोटेकोशी, काबेली हाइड्रोपावर कम्पनी, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक श्रमिक विदेशी छन् ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि ३३ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ छन् । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ ।

विभागका अनुसार आव २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ । जसमा नयाँ एक हजार ६६५ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार २० जना रहेको छ । जब कि आव २०७९/८० मा यो सङ्ख्या दुई हजार ९८८ जना थियो । जसमा नयाँ एक हजार ३६३ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours