१४ पुस, काठमाडौं । ललितपुरमा रहेको सदर चिडियाखानामा वार्षिक १० लाखले अवलोकन गर्ने गरेको पाइएको छ ।
आइतबार सदर चिडियाखानाको २९औं वार्षिकोत्सव उत्सव मनाइएको छ । यही अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषले विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएको हो ।
सदर चिडियाखाना कोषलाई हस्तान्तरण हुँदा कुल १०४ प्रजातिका कुल ६६० वन्यजन्तु रहेकोमा अहिले ११९ प्रजातिका १ हजार ४०६ वटा वन्यजन्तु रहेको कोषले जनाएको छ । जसमध्ये ४० स्तनधारी, ६० पन्छी, ११ सरिसृप र ८ माछा प्रजातिका वन्यजन्तु छन् ।
सदर चिडियाखाना हाल आर्थिक रूपमा आत्मनिर्भर बन्न सफल भएको कोषको दाबी छ ।
सदर चिडियाखाना १९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर जबराले स्थापना गरेका थिए । १४ पुस २०५२ मा सरकारले यसको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिएको थियो । गत २ कात्तिकको मन्त्रिपरिषद् बैठकले यसको व्यवस्थापन गर्ने जिम्मा पुनः कोषलाई नै दिने निर्णय गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्न महानगरले तयार रहेको बताएका छन् ।
‘म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन ‘जू’ हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरेँ । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकपटक अध्ययन गरौं न,’ मेयर महर्जनको प्रस्ताव छ।
सदर चिडियाखानालाई रात्रिकालीन रूपमा चलाउनका लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई उनले आग्रह गरे ।
‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नका लागि म विशेष अनुरोध गर्न चाहन्छु । किनभने यहाँ रात्रिकालीन क्रियाकलापहरू छैनन् । रात्रिकालीन क्रियाकलापहरू सहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा सुरु गरौं,’ उनले भने ।
+ There are no comments
Add yours