एक करोड २६ लाखको लागतमा बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

१२ पौष, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिका वडा नं ६ बीच बौद्ध क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा कार्यालयका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले सो समझदारी पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार बौद्ध क्षेत्रमा रु एक करोड २६ लाख ९० हजार लागतमा सिसिटिभी जडान गरिनेछ । काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र सहरी सुशासनसँग सम्बन्धित विषयमा सहकार्य गर्न सिसिटिभी जडान गराउने सम्झौता–पत्रमा उल्लेख छ ।

सिसिटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसिटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसारको हुनेछ । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours