०९ पुस, काठमाडौं । राष्ट्रिय धार्मिक संघ संस्था सम्मेलनले सरकारसमक्ष १३ बुँदे माग राखेको छ । नेपालमा भएका मठ, मन्दिर, गुठी, गुम्बा लगायतका धार्मिक धरोहरहरु सम्बन्धित धार्मिक समुदायको व्यवस्थापन र नेतृत्वमा मात्र सञ्चालन गर्न माग गरेको हो ।
यस्तै, सम्मेलनले एकादशी र औंसी जस्ता मुख्य तिथिपर्वहरुमा देशभित्र सबै किसिमका हिंसा बन्द गर्ने र मासु–मदिरा पसल बन्द हुनुपर्ने, ॐकार परिवारको धार्मिक आस्थाका केन्द्रहरु आश्रम, मठमन्दिर, लगायतका सबै क्षेत्र करमुक्त क्षेत्र घोषणा गर्नुपर्ने, स्थानीय कृषि प्रणाली र गौवंश संरक्षणका लागि सामुदायिक वनमा गौचरण क्षेत्र अनिवार्य छुट्याउनुपर्ने माग राखेको छ ।
यसैगरी सरकारी कामकाजमा नेपाली भाषा प्रयोग गर्नुपर्ने, सवारी साधन अनुमतिपत्र (लाइसेन्स), बैंकमा पैसा राख्दा दिने अभिलेख लगायत विदेशी भाषा र संवत्मा दिने कार्य गरिएकाले राष्ट्र बैंकबाटै सुधार गर्नुपर्ने, सरकारी कर्मचारी र सरकारको संरक्षणमा सन्चालित मठमन्दिर र कोष आदिमा कार्यरत कर्मचारी वा धार्मिक गुठी प्रतिनिधिले सम्बन्धित परम्परा अनुसारको स्वदेशी भेषभूषा अनिवार्य लगाउनुपर्ने माग सम्मेलनले राखेको छ ।
सम्मेलनले नेपाल सरकार लगायत सम्बन्धित समुदायले सन्चालन गरेको मठमन्दिर, आश्रम, गुठी र गुम्बाको आम्दानी पाठशाला, गौशाला, यज्ञशाला, औषधालय, भोजनालय, पुस्तकालय जस्ता विषयमा मात्र खर्च गर्ने व्यवस्था मिलाउन पनि सम्मेलनले माग गरेको छ ।
यस्तै, काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनले असोज ३ गतेलाई कालो दिन घोषणा गरेको छ । साथै अबदेखि हरेक वर्ष असोज ३ गते अन्न ग्रहण नगरी ‘व्रत आन्दोलन’को रुपमा मनाउने निर्णय समेत सम्मेलनले गरेको छ ।
चाबहिलमा पुस ५ र ६ गते दुई दिनसम्म चलेको सम्मेलनले नेपाललाई हिन्दु धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेको होे ।
+ There are no comments
Add yours