०८ पुस, काठमाडौँ । विभिन्न अमेरिकी सहरमा नेपाली कलासंस्कृति प्रवर्धन गर्ने उद्देश्यले सांगीतिक तथा हास्य ब्यंग्य कार्यक्रम आयोजना हुने भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम सन् २०२५ को फेब्रुअरी र अप्रिल महिनामा हुने आयोजक फ्लाइ नेपाका अध्यक्ष विनोद अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यस अगाडि गरिएको कार्यक्रमले हामीलाई हौसला मिलेको हो । हामी यसलाई अझै सभ्य र भव्य रुपमा गर्ने तयारीमा छौँ । अमेरिकाका विभिन्न सहरमा हामी प्रस्तुत हुनेछौँ ।’
‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पंगेनी, प्रताप दास, गायिका कला लम्साल, एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेलले प्रस्तुति दिनेछन् । ‘अब हाँस्छ अमेरिका २’मा मिस पवि, पवन खतिवडा, सुजिता श्रेष्ठ लगायतले प्रस्तुति दिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा गायिका लम्सालले आफू लगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताईन् । उनले भनिन्, ‘हामीले अन्य स्थानमा गरिरहेको प्रस्तुतिभन्दा फरक तयारी गरिरहेका छौँ । यसपटक हामीसँगै दर्शकलाई नचाउनेछौं । यो साङ्गीतिक यात्रा रमाइलो र रमणीय हुनेमा विश्वस्त छौँ ।’
आयोजकका अनुसार न्यूयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया लगायतका सहरमा कार्यक्रम हुनेछ ।
+ There are no comments
Add yours