गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

०८ पुस, काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार बिहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटानालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने विश्वास व्यक्त गरे । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।

‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मुत्यु भएको छ । बँचेका २६ जनाले जुन सुकै बेलापनि आत्महत्या गर्ने खतरा हुन्छ,’ उनले भने ।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ ।

‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौं । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ गृहमन्त्री लेखकले भने, ‘आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउँछ ।’

उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ ।

आत्महत्या नियन्त्रण र न्यनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए।

‘तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो । कि मान्छेले मानसिक स्वास्थ्य विभागले मनोपरामर्श गर्‍यो । हामीले कति मान्छेलाई जोगाउन सक्यौं भनेर आवधिक रुपमा मुल्यांकन गर्नुपर्छ,’ उनले भने ।

यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours