०८ पुस, काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्र्यागन बोट रेस आयोजना हुने भएको छ । यही पुस १४ र १५ गते गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो । फेवातालमा हुने प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो । सो अवसरमा बोल्दै काठमाडौँस्थित चिनियाँ राजदूतावासका उपप्रमुख वाङ सिनले प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुने अपेक्षा गर्नुभयो ।
दुई सय र पाँच सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीय हुनेले एक हजार दुई सय डलर पुरस्कार प्राप्त गर्ने छन् । त्यसै गरी सहभागी बाँकी सत्र समूहलाई प्रतिसमूह पाँच सय डलर प्रदान गरिने जनाइएको छ ।
यसअघि सन् २०२३ मा चीन सरकारको अगुवाइमा फेवातालमै ड्र्यागन बोट फेस्टिभलको आयोजना गरिएको थियो ।
+ There are no comments
Add yours