५ महिनामा साढे ७ खर्बको वैदेशिक व्यापार, सुधारिँदै निर्यात

०७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को यसै अवधिको तुलनामा ४.२१ प्रतिशत धेरै हो । आयात र निर्यात दुवैमा सुधार हुँदा यस वर्ष कुल वैदेशिक व्यापारको आकार समेत बढेको देखिएको छ । गत आवको ५ महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको व्यापार भएको तथ्यांकमा देखिन्छ ।

भन्सार विभागका अनुसार पहिलो ५ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ३ प्रतिशत धेरै हो । अघिल्लो आवको मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष निर्यातमा भने उल्लेख्य सुधार देखिएको छ ।

भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट विदेश निर्यात भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १६.५४ प्रतिशत धेरै हो । यस वर्ष भारतले वनस्पति तेलको आयात सहज बनाएसँगै नेपालबाट हुने निर्यात बढ्न थालेको हो ।

अघिल्लो आवको यसै अवधिमा निर्यात ६३ अर्ब २० करोड रुपैयाँ मात्र रहेको थियो । मंसिरसम्म नेपालको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बराबर रहेको देखिन्छ । व्यापार घाटा अघिल्लो आवको तुलनामा १.५२ प्रतिशतले मात्र विस्तार भएको छ ।

आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै हुँदा व्यापार घाटा धेरै नबढेको हो । अघिल्लो आवको मंसिरसम्म ५ खर्ब ७९ अर्ब रुपैयाँ हाराहारी व्यापार घाटा रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ८९.९८ प्रतिशत रहेको छ । निर्यातको हिस्सा १०.०२ प्रतिशत रहेको छ । निर्यातको हिस्सा केही बढेको देखिन्छ ।

पेट्रोलियम पदार्थको आयातमा सवा १ खर्ब

यस वर्ष पाँच महिनामै पेट्रोलियम पदार्थको आयातमा १ खर्ब भन्दा बढी खर्च भएको छ । तथ्यांक अनुसार मंसिर मसान्तसम्म १ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ ।
नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थ आयात मात्र धान्न समेत नपुग्ने अवस्था छ ।

मंसिरसम्म आइरन तथा स्टीलको आयात ५४ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ । विद्युतीय उपकरण र त्यसका पाटपुर्जाको आयातमा ४५ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ । ४१ अर्ब रुपैयाँ बराबरका सवारीसाधन आयात भएको तथ्यांकमा देखिएको छ । साढे १९ अर्ब रुपैयाँ बराबरको तरकारी र तरकारीजन्य वस्तु आयात भएको छ ।

भारतसँग धेरै व्यापार, व्यापार घाटा पनि धेरै

मंसिरसम्मको तथ्यांक अनुसार नेपालको सबैभन्दा धेरै वैदेशिक व्यापार भारतसँग भएको छ । यस अवधिमा भारतबाट नेपालले ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । नेपालबाट भारतमा ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब ५८ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । चीनबाट नेपालमा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको वस्तु आएको छ । नेपालबाट चीनमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकमा देखिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours