नर्भिक अस्पतालमा अत्याधुनिक प्रविधिबाट पेटका सुन्निएका रक्तनलीको उपचार

०७ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा नेपालमै पहिलोपटक पेटका सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट उपचार गरिएको छ । इन्डोस्कोपिक अल्ट्रासाउन्ड (ईयूएस) गाइडेड ‘क्वाइल एम्बोलाइजेसन’ प्रविधिबाट कलेजोका बिरामीमा देखा पर्ने पेटको सुन्निएको रक्तनली–ग्यास्ट्रिक फन्डल भ्यारेसको उपचार गरिएको हो ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा. शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा ईयूएस गाडडेड क्वाइल एम्बोलाइजेसन प्रक्रिया सम्पन्न भएको हो ।

ग्यास्ट्रिक फन्डल भ्यारेस पेटको सुन्निएका रक्तनली हुन्, जुन प्रायः कलेजोको रोगका बिरामीमा देखा पर्छ । यो अवस्था कलेजो रोग भएका बिरामीका लागि मृत्यु र गम्भीर स्वास्थ्य समस्याको प्रमुख कारणमध्ये एक मानिन्छ । समयमै उपचार नगरिएमा यी रक्तनलीहरू फाटेर जीवन जोखिममा पर्न सक्छ । नेपालमा कलेजोको समस्या दिनानुदिन बढिरहेको अवस्थामा यस्तो प्रविधिको आवश्यकता झनै महत्त्वपूर्ण बनेको चिकित्सककको भनाइ छ ।

यो अत्याधुनिक प्रक्रियामा, क्यामेरा र अल्ट्रासाउन्ड प्रविधिजडित पातलो ट्युबमार्फत सुन्निएका रक्तनलीमा साना धातुका क्वाइल राखिन्छ । यी क्वाइलहरूले रक्तप्रवाह बन्द गरी भ्यारेसहरू फुट्नबाट बचाउँछन् ।

‘क्वाइल एम्बोलाइजेशन’ को नेतृत्व गरेका डा. पौडेलले यो उपलब्धिले नेपालमा अत्याधुनिक उपचारको ढोका खोल्ने र धेरै जीवन बचाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । डा. कुँवरले यो सफलता नेपालको चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours