प्रविधिको उपयोग गरेर यातायात व्यवस्थापन गर्न विज्ञको सुझाव

०७ पुस, काठमाडौं । सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधि उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकसँग भएको छलफलमा उनीहरूले प्रविधिको उपयोगबाट यातायात व्यवस्थापनका साथै सडक सुरक्षा सहज बनाउन सकिने बताए ।

सो क्रममा भौतिकमन्त्री देवेन्द्र दाहालले सडक निर्माण मात्र नभई सुरक्षाको सवाल समेत जरुरी भएकाले मन्त्रालयले त्यसतर्फ पनि ध्यान दिएको बताए ।

विभिन्न निकाय तथा विज्ञहरूसँग आवश्यक समन्वय गरी सडक सुरक्षालाई दरिलो बनाउन र सेवाग्राहीलाई सुरक्षित तथा सरल सेवा प्रवाह गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मन्त्री दाहालले सडक सुरक्षा, व्यवस्थान तथा सेवा प्रवाहलाई सरल पार्ने विषयमा कानुनी तथा नीतिगत जटिलता भएमा त्यस्ता व्यवस्थाहरू सरल पार्न मन्त्रालय तत्पर रहेको समेत बताए ।

छलफलमा प्रतिष्ठानका सचिव रविन्द्रप्रसाद ढकालले विभिन्न राष्ट्रका विश्वविद्यालय एवम् प्राज्ञिक निकायसँग सहकार्य गरी सडक सुरक्षा तथा यातायात व्यवस्थापन क्षेत्रमा कार्य गर्न प्रतिष्ठान अग्रसर रहेको बताए ।

प्रतिष्ठानकै वरिष्ठ वैज्ञानिक सुरेशकुमार ढुंगेल, ईश्वर बज्राचार्य, प्राविधिक अधिकृत हरिराम श्रेष्ठ लगायत मन्त्रालयकै प्राविधिकसहित मन्त्री दहालले सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा प्रविधिको उपयोगबारे छलफल गरेका हुन् ।

त्यस क्रममा विज्ञहरूले अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय तथा सोही प्रकारका अन्य प्रतिष्ठानहरूसँग सहकार्य गर्दा आवश्यक पर्ने नीतिगत एवम् कानुनी व्यवस्था सरल बनाई दिन आग्रह गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours