०७ पुस, काठमाडौं । नेपाली भाषाको साइन्स फिक्सन फिल्म ‘एक्लो’ले दुई शीर्ष कलाकारको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ । चरित्रप्रधान पोस्टरमा डेब्यु अभिनेत्री कविता नेपालीलाई ‘एरियल’को रुपमा चिनाइएको छ ।
बेलायती अभिनेता जेमी बेकनलाई ज्याक चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा यी दुवै कलाकारको चरित्र चित्रण रोचक हुने अनुमान गर्न सकिन्छ । दुवै कलाकार एक्सन अवतारमा प्रस्तुत छन् ।
बेकन बन्दुक बोकेर पूरै एक्सन अवतारमा देखिएका छन् भने कविता एक्सन मुडमा प्रस्तुत छिन् । हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन गरिएको फिल्मलाई ‘अन्तिम संस्कार’ फेम्ड प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
भारतको चर्चित रियालिटी शो ‘बुगी उगी’बाट आफूलाई नृत्याङ्गनाको रुपमा प्रस्तुत गरेकी नेपालीको यो डेब्यु फिल्म हो । यसमा उनी एक्सन भूमिकामा देखिएको जनाइएको छ ।
नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्ममा अभिनेता बेकनले अन्तरीक्षयात्रीको भूमिका निर्वाह गरेका छन् । यो फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । यसअघि अभिनेता खड्काको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
फिल्ममा विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय छ ।
फिल्म सन् २०२५ मा प्रदर्शन हुने जनाइएको छ ।
+ There are no comments
Add yours