०७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।
‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा भनिएको छ ।
गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए । कर्मचारीहरुले स्रोत अभाव भएको गुनासो गरेपछि मन्त्री पौडेलले केही समयअघि पनि वैद्यखानाका लागि बजेट गएको बताएका थिए ।
‘तपाईंहरुको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्, हामी सघाउँछौं,’ मन्त्री पौडेलले भने, ‘तर उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपदान दिन सकिन्न ।’
मन्त्री पौडेलले तीन दिनभित्र समस्या समाधान गरी उत्पादन बढाउने योजना ल्याउन पदाधिकारीलाई निर्देशन समेत दिएका थिए । मन्त्रीले निर्देशन दिएको १२ घण्टा पनि नबित्दै वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले सामाजिक सञ्जालमार्फत पाँचबुँदे समस्या देखाउँदै ती समाधान नभएसम्म कुनै पनि उत्पादन हुन नसक्ने बताएका थिए ।
उनले अहिलेको गठन आदेशले ठिमाहा बीउ रोपेको र त्यसमा धान नफल्ने व्यंग्यात्मक टिप्पणी गरेका थिए । केसीले आफूलाई दुई पटक इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती निर्देशक बनाइएको उल्लेख गरेका छन् । उनले कर्मचारी स्वार्थबेगर काम नगर्ने परिपाटी रहेको औंल्याएका छन् ।
अहिलेको गठनादेशले व्यवस्था गरेको कार्यकारी निर्देशकको प्रावधान राख्नु हुँदैन भनेर २०७७ सालमै सुझाव दिएको बताएका थिए ।
‘अहिलेको व्यवस्थाले यदि कसैलाई फाइदा गर्यो भने त्यो केवल आयुर्वेद समूहका केही नवौं र १० औं तहका कर्मचारीलाई मात्र गर्यो तर संस्था झनै टाट पल्टियो,’ डा. केसीले भनेका छन्, ‘एक जना मात्र प्रबन्ध निर्देशक हुने समयावधिमा यसले १२ जना कार्यकारी निर्देशक पाइसकेको छ । जसमा म पनि इच्छा विपरीत दुई पटक सामेल भइसकेको छु । ठिमाहा बीउ रोपेपछि धान कसरी फल्थ्यो र ?’
डा. केसीले ठेकेदारसँग साँठगाँठ गरी उत्पादन प्रणाली ध्वस्त पार्ने र संस्था टाट पल्टाएर आफ्नो रोटी सेक्नेलाई समितिले कारबाहीको दायरामा ल्याउनुपर्ने तर अहिलेको समितिमा त्यो तागत नभएको बताएका थिए ।
मन्त्रीको सचिवालय स्रोतले पनि डा. केसीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरेको छ ।
‘वैद्यखानाको काम चुस्त नभएको कर्मचारीबाट गुनासो आयो । हेलो स्वास्थ्यमा पटक-पटक गुनासो आएपछि मन्त्री आफैं अनुमनमा जानुभएको थियो,’ मन्त्रीको सचिवालय स्रोत भन्छ, ‘उहाँले स्पष्ट वैद्यखानामा देखिएको समस्यालाई समाधान गर्ने बताउनुभएको थियो । तर सरकारी कर्मचारीलाई नेतृत्व तहमा पालना गर्नुपर्ने नियम तथा विधि पालना गर्नुपर्ने हो कि होइन त्यही विषयमा हामीले स्पष्टीकरण सोधेका हौं ।’
+ There are no comments
Add yours