०६ पौष, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीचको उपाधि भिडन्त कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ ।
दुवै टिमको दाउ पहिलो संस्करणको एनपीएलको ऐतिहासिक ट्रफी जित्नेमा हुनेछ । सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्समाथि ह्याटिक जित दर्ता गर्दै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ । उता जनकपुर बोल्ट्स भने सुदूरपश्चिम रोयल्ससँग लगातार दुई खेलमा ब्यहोरेको हारको बदला लिँदै ट्रफी आफ्नो पोल्टामा पार्ने दाउमा हुनेछ ।
फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
फाइनलअघि शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले फाइनलका लागि तयार भएको र यसअघिका खेलमा देखिएका गल्तीलाई सुधारेर खेल्ने बताए ।
शतप्रतिशत दिन्छौँ: दीपेन्द्रसिंह ऐरी, कप्तान सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शतप्रतिशत योगदान दिने बताउनुभएको छ । फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनल खेलका लागि कुनै विशेष योजना नभएको उल्लेख गर्नुभयो । “त्यस्तो कुनै विशेष योजना छैन । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शतप्रतिशत दिन्छौँ”, पत्रकार सम्मेलनमा दीपेन्द्रले भन्नुभयो ।
कप्तान ऐरीले अघिल्ला खेलहरु राम्रो भइरहेको बताउँदै फाइनल खेलमा पनि राम्रो गर्ने धारणा राख्नुभयो । “सबै राम्रो भइरहेको छ। पहिले खेलेका खेलहरू पनि राम्रै भएका छन् । पहिले हरायो भनेर सजिलो रूपले लिनुभएन । प्रतिस्पर्धा एकदम रोमाञ्चक र उत्कृष्ट हुनेछ”, उहाँले भननुभयो, “हामीले योजना बनाएर खेलिरहेका छौँ । फाइनल खेल पनि लिगहरूका खेलमा खेले जस्तै खेल्नेछौँ । फाइनल शतप्रतिशत दिनेछौँ ।”
राम्रो प्रदर्शन गर्छौंः आशिफ शेख, कप्तान, जनकपुर बोल्ट्स
जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ । उहाँले भननुभयो, “आफूसँग जे जति छ, त्यो मैदानमा दिनेछौँ । फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ ।”
कप्तान शेखले भन्नुभयो, “हामी एउटा क्वालिटी क्रिकेट खेल्छौँ । हामीसँग जे जति छ, त्यो मैदानमा दिन्छौँ । रिजल्टका बारेमा त्यस्तो केही सोचेका छैनौँ । मैदानबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्यो कि, आफूसँग जे जति थियो सबैलाई दियौँ ।”रासस
+ There are no comments
Add yours