०५ पौष, काठमाडौँ । नेपालमा कमजोर दृश्य क्षमता र रातको समयमा पनि उडान अवतरण गर्न सकिने प्रविधि जडित विमानस्थलको सङ्ख्या १० पुगेको छ । कन्ट्रोल एरोड्रम सेवा अन्तर्गत सञ्चालित १२ वटा विमानस्थलमध्ये दस वटा विमानस्थलमा उडानका लागि सहायता प्रदान गर्ने उपकरण अर्थात् इन्स्ट्रुमेन्टल फ्लाइट रुल (आइएफआर) प्रविधि जडान गरी रात्रिकालीन उडान योग्य बनाइएको हो ।
देशभरि रहेका ५५ विमानस्थलमध्ये २१ वटा बन्द र ३४ वटा सञ्चालनमा छन् । तीमध्ये दस वटा विमानस्थलमा आइएफआर प्रविधि जडान गरेर रात्रिकालीन उडानयोग्य बनाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रविधिमा आधारित रहेर विमानस्थल सञ्चालनका लागि धावनमार्गको लम्बाइ, एप्रोच लाइट, पाथ इन्डिकेटर, धावनमार्ग, ट्याक्सी वे र एप्रोन क्षेत्रमा बत्ती जडान, एयर ट्राफिक सर्भिस (कन्ट्रोल एरोड्रमल) लगायतका प्रविधि परीक्षण गरेर १० वटा विमानस्थल रात्रिकालीन उडानयोग्य बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “कन्ट्रोल एरोड्रमलमा आधारित सुर्खेत र भरतपुर विमानस्थलको धावनमार्गको विषय समाधान भएपछि त्यहाँ पनि रात्रिकालीन उडान सञ्चालनमा ल्याउने तयारी छ ।” उहाँले रात्रिकालीन उडान भरिरहेका भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमध्ये आठ वटा विमानस्थलमा भिओआर डिएमई र अन्यमा भिओआर डिएमई र सेटेलाइट बेस नेभिगेसनमा आधारित प्रविधि प्रयोगमा ल्याइएको बताउनुभयो ।
काठमाडौँ, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी, सिमरा, विराटनगर र चन्द्रगढी विमानस्थलमा भिओआर डिएमई प्रविधि जडान गरिएको छ । राजविराज, जनकपुर र भद्रपुर विमानस्थलमा भिओआर डिएमई र सेटेलाइट बेस नेभिगेसन प्रविधि सञ्चालनमा रहेको छ ।
भिओआर डिएमई सेवा जडानका लागि बत्ती जडानबाहेक दस लाख रुपियाँ खर्च हुने बताउँदै सेटेलाइट बेस नेभिगेसन प्रविधि जडानका लागि ‘प्रस्युडर’ खर्च र आवश्यक पर्ने बत्ती जडानमा करिब २० करोड रुपियाँ खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी भुलले विमानस्थलमा आइएफआर नियम अनुसार उडान सुरु भएपछि हवाई यात्रा र उड्डयन सुरक्षालाई थप सुरक्षित बनाउँदै हिउँदको समयमा कम भिजिबिलिटीका कारण उडान रद्द र ढिलाइ हुनेलगायतका समस्याबाट यात्रुले छुटकारा पाउने जानकारी दिनुभयो ।
+ There are no comments
Add yours