०४ मंसिर, गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला १९ महिनापछि खुलेको छ । सदस्यतामा भएको शुद्धिकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमतिपछि आज (बिहीबार) खुलेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिए ।
पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पुरा गरेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सहमतिपछि दुवै पक्षको सहभागीतामा ताला खुलाइएको हो ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा अनिल खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले महासंघको कार्यालयमा लागेको ताला खुलाउन आन्दोलनरत पक्षसँग निरन्तर संवाद गरेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूहरु पनि महासंघको काममा अवरोध गर्ने उद्देश्य नरहेकोले छलफलबाट नै निष्कर्ष निकालिएको बताए ।
उनले नियतवस सदस्यबाट हटाएकोमा आपत्ति जनाउँदै अब मिलेरै काम गर्ने बताए । संस्थापक अध्यक्ष श्रेष्ठले क्रियाशील र मापदण्ड पुगेका पत्रकारलाई सदस्यता तथा संस्थापकलाई मानार्थ सदस्यता दिने गरी सहमती भएपछि आफूहरूले ताला खोलेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमती, सहकार्य र एकताबाटै काम गर्ने बताए ।
महासंघमा नवनिर्वाचित कार्यसमितिले तालाबन्दीकै कारण पदभार ग्रहण गर्न पाएको छैन् । तालाबन्दी खुलेसँगै महासंघले पदभारको कार्यक्रम गर्ने तयारी गरेको छ ।
पत्रकार महासंघ गुल्मीमा शुद्धिकरणपछि २५ जना साधारण सदस्य छन् । सदस्यता विवादकै कारण महासंघको सातौं अधिवेशन पनि आफ्ै भवनमा हुन सकेको थिएन ।
+ There are no comments
Add yours