कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्दै राष्ट्र बैंक

०४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड ५ लाख गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले एक वर्षको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर ५ पुसभित्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्ने छ ।

राष्ट्र बैंकको रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ ।

यसैगरी खुद तरल सम्पत्ति बैैंकले तोकेको न्यूनतम सीमा कायम गरेको, कर्जा/निक्षेप अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको लगायतका सर्त पनि छन् ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिबाना गरेको अवस्थामा त्यस्ता पदाधिकारी संस्थामा कायम नरहेको र यदि रहे जरिवाना भुक्तानी गरेको अवधि ६ महिना पूरा भएको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने लगायत सर्त पनि केन्द्रीय बैंकको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours