नेपाली उत्पादन कोरियामा विस्तार गर्ने समझदारी

०४ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्टर्स एसोसिएसन (कोईमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोईमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

कोईमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेष गरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।

आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासँगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ ।

यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ ।

नेपालबाट हाल फेल्ट, गलैंचा, धागो लगायत परम्परागत सामान बढी गइरहेको सन्दर्भमा कोईमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।

नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५ वर्ष र समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोल स्थित नेपाली दूतावासले आयोजना गरेको ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षक कार्यक्रममा अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठूला बजारसँगको समिप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताए ।

ढकालले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूबारे जानकारी गराए ।

उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए ।

दुई पक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको उनले बताए ।

ढकालले कोरियाली व्यावसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसर खोजी गर्न निमन्त्रणा गर्दै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासन दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours