०३ पौष, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने भएको छ । ०७५ साउन १० गते साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । घर नजिकै उखुबारीमा उनको शव फेला परेको थियो ।
त्यसपछि भएका पटकपटकका अनुसन्धानमा हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान थाल्न टोली खटाउन लागेको हो । प्रहरी स्रोतका अनुसार, निर्मला हत्या प्रकरणको अनुसन्धानबारे पुनः विश्लेषण गरेर अघि बढ्ने तयारी थालिएको छ । त्यसका लागि प्रहरीले हालसम्म प्राप्त प्रमाण र प्रहरीको अनुसन्धानबाट खुलेका तथ्यहरूबारे विश्लेषण गर्दै अनुसन्धान थाल्नेछ ।
प्रमाण र तथ्यबारे प्रहरी प्रधान कार्यालयले विश्लेषणको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले मंगलबार त्यसबारे अनुसन्धानमा खटिएका केही प्रहरी अधिकारी र अन्य व्यक्तिहरूसँग पनि लामो छलफल गरेका छन् ।
छलफललगत्तै सीआईबी टोलीलाई पुनः कञ्चनपुरमा खटाएर अनुसन्धान गर्ने तयारी भएको छलफलमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए ।निर्मला हत्या प्रकरणबारे हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मात्रै अनुसन्धान गरिरहेको छ ।
यसअघि, लामो समय सीआईबीको टोली कञ्चनपुर नै बसेर अनुसन्धान गरेको थियो । हत्यालगत्तै खटिएको सीआईबी टोली गत वर्षमात्र कञ्चनपुरबाट फिर्ता भएको थियो ।
तर, कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रहरी नै विभाजित अवस्थामा थियो । निर्मला पन्त वर्तमान गृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रकी स्थानीय हुन् । हत्याको एक महिनापछि ०७५ भदौमा प्रहरीले कञ्चनपुरकै दिलीप विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
तर, पछि दिलीपको डीएनए परीक्षण नमिलेपछि उनी छुटेका थिए । अदालतको आदेशबाट विष्ट रिहा भएका हुन् । केही प्रहरी अधिकारीले विष्ट नै निर्मलाको हत्यारा भएको दाबी गरे पनि अदालतले भने प्रमाण अपुग भन्दै रिहा गरिदिएको थियो ।
प्रहरीले निर्मला हत्याको अनुसन्धानका लागि सयौँको डीएनए परीक्षण गर्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।
+ There are no comments
Add yours