अस्करमा अन्तर्राष्ट्रिय फिचर विधाको सर्टलिस्ट आज, ‘शाम्बाला’को सम्भावना कति ?

०२ पुस, काठमाडौं । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले मंगलबार अस्कर अवार्डको अन्तर्राष्ट्रिय फिचर विधातर्फको सर्टलिस्ट मनोनयन सार्वजनिक गर्दैछ । यो प्रतिस्पर्धामा नेपालको ‘शाम्बाला’ले पनि सहभागिता जनाइरहेको छ ।

आज घोषणा हुने सर्टलिस्टलाई लिएर विश्व फिल्मको ध्यान यसतर्फ छ । यो विधामा ८५ मुलुकले प्रतिस्पर्धा गरिरहेका छन् । कुन फिल्मले सर्टलिस्टमा स्थान बनाउनेछ, यी अनुमानलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रक्षेपण गरिरहेका छन् ।

भेराइटी म्यागेजिनले फ्रान्सको नेटफ्लिक्स फिल्म ‘इमिलिया पेरेज’, ब्राजिलको सोनी पिक्चर्सको फिल्म ‘आई एम स्टिल हेयर’, जर्मनीको नियोन फिल्म ‘द सिड अफ द सेक्रेड फिग’, आयरल्याण्डको ‘निक्याप’, डेनमार्कको ‘द गर्ल विथ द निडल’ सर्टलिस्टमा पर्ने प्रक्षेपण गरेको छ ।

यसका अतिरिक्त सेनेगलको ‘दाहोमे’, लात्भियाको ‘फ्लो’, पोर्चुगलको ‘ग्राण्ड टुर’, मेक्सिकाको ‘सुजो’ र नर्वेको ‘आरमण्ड’लाई पनि भेराइटीले सर्टलिस्टमा पर्न सक्ने सम्भावना औंल्याएको छ । भारतले यसपटक आमिर खानले निर्माण गरेको फिल्म ‘लापता लेडिज’लाई अस्करमा पठाएको छ ।

नेपालबाट सिफारिस भएको ‘शाम्बाला’ पनि अस्करको दाबेदार हो । मीनबहादुर भाम निर्देशित यो फिल्मको अस्कर भविष्य के हुन्छ भन्ने कुरा आज रातिसम्म टुंगो लाग्नेछ । बर्लिनमा छनोट भएर इतिहास रचेको यो नेपाली फिल्म के अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा छनोट भएर अर्को इतिहास रच्ला ? यसबारे प्रतीक्षा गर्न जरुरी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours