०१ मंसिर, काठमाडाैं । अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी समस्या हो । यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या, सिकाइको क्षमता कमी हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्क भन्दा फरक ढङ्गले काम गर्छ ।
अटिजम पूर्ण रूपमा निको हुने समस्या होइन । तर समयमा पहिचान भई सही केन्द्रमा पुर्याउन सके उनीहरूलाई आफ्नो घरमा आत्मनिर्भर बनाउने, आफ्नो काम आफैं गर्नेसम्मको बनाउन सकिन्छ । यसको एक मात्र माध्यम भनेको तालिमप्राप्त अभिभावक नै हुन् । उनीहरू नै बच्चाको लागि थेरापिस्ट बन्न सक्छन् ।
अटिजमको लक्षण
यसमा बच्चामा उमेरअनुसार बोली नफुट्ने, बच्चामा एक्लै खेल्न मन पराउने, आँखा जुधाएर बोल्न नसक्ने, आफू समान उमेर समूहका साथीसँग घुलमिल हुन मन नपराउने, एकोहोरो बस्न मन पराउने, कुराकानी नगर्ने, एउटै कुरा दोहोर्याइरहने, बोलाउँदा पनि प्रतिक्रिया नदिने, अस्वाभाविक रूपमा हाँस्ने वा कराउने इत्यादि लक्षण पर्छन् । अटिजमको लक्षण प्रायः तीन वर्षभित्र देखिन्छ ।
अटिजम भएका बालबालिकाको हेरचाह गर्ने उपाय
थेरापी
अटिजमको लक्षण व्यवस्थापन वा कम गर्न विभिन्न थेरापी गर्नुपर्छ । त्यसका लागि अभिभावकले सहजीकरण गर्नुपर्छ । अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पीच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसकारण उनीहरूमा रोगप्रतिरोधात्मक क्षमताको पनि विकास गर्न मद्दत पुग्छ ।
अटिजमका लक्षण व्यक्तिपिच्छे फरक-फरक हुने भएकाले प्रत्येक व्यक्तिलाई विशेष उपचार दिएर मात्र राम्रो नतिजा हासिल गर्न सकिन्छ ।
उनीहरूको व्यवहारलाई बुझ्ने
आफ्नै हात टोक्ने, चिच्याउने, आफैंलाई चोट पुर्याउने र मान्छेसँग आँखा जुधाउन नसक्ने जस्ता व्यवहार अटिजम भएका बालबालिकाले देखाउने गर्छन् । साथै, साथीभाइप्रति हिंस्रक हुने, समूहमा नखेल्ने कहिलेकाहीं सामान्य निर्देशन समेत नबुझ्न सक्छन् । अभिभावकले बच्चाको यस्ता व्यवहारलाई बुझ्नुपर्छ । बालबालिकाको यस्ता व्यवहार बुझियो भने उसलाई दिने प्रतिक्रियामा सन्तुलित राख्न सकिन्छ । जसले उनीहरूलाई संयमित रहन प्रेरित गर्न सकिन्छ ।
सकारात्मक व्यवहारमा ध्यान दिने
अटिजम भएका बच्चाले अक्सर सकारात्मक व्यवहारलाई राम्रोसँग प्रतिक्रिया दिन्छन् । अभिभावकले उनीहरूको राम्रो व्यवहारलाई प्रशंसा गर्दा राम्रो महसुस गर्छन् र व्यवहार सुधार्न प्रेरणा मिल्छ । त्यसैले अटिजम भएका बालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन उनीहरूले गरेको राम्रो कामको प्रशंसा गर्ने र पुरस्कार दिने गर्नुपर्छ ।
समयतालिका बनाइदिने
अटिजम भएका बालबालिका एकै किसिमको दिनचर्या मन पराउँछन् । त्यसैले उनीहरूको दैनिक समय तालिका बनाइदिनुपर्छ । जसले गर्दा उनीहरूको अन्तरक्रियामा अवरोध हुँदैन र उनीहरूले थेरापीबाट सिकेका कुरा अभ्यास गर्न सक्छन् । यसले नयाँ सीप र व्यवहार सिक्न सजिलो बनाउन सक्छ । बालबालिकासँग हरेक दिन अभिभावकले निश्चित समय बिताउने, रमाइलो गर्ने जस्ता कार्य गर्दा बालबालिका र अभिभावकको सम्बन्ध सुमधुर हुन सहयोग पुग्छ ।
वातावरण व्यवस्थापन
अटिजम भएका बालबालिका केही कुराबाट उत्प्रेरित हुन्छन् । त्यसलाई नियन्त्रण गरेर बच्चाको व्यवहार नियन्त्रण गर्न सकिन्छ । त्यस्ता बच्चाले प्रायः एक विशेष परिस्थितिमा मात्र जिद्दी गर्छन् ।
केही कुरालाई बेवास्ता पनि गर्नुपर्छ
अटिजम भएका बालबालिकाको व्यवहार अन्य बालबालिकाको भन्दा फरक हुन्छ । यो सत्यलाई अभिभावकले बुझ्नुपर्छ । त्यसैले सबै कुरामा उसलाई गाली गर्नु वा उसको व्यवहारलाई सुधार्न खोज्नु ठीक होइन । उनीहरूलाई हानि नगर्ने केही बानीलाई बेवास्ता गर्नु पनि महत्त्वपूर्ण हुन्छ । उनीहरुको बोली व्यवहारको सकारात्मक प्रतिक्रिया दिनुपर्छ र सरल तरिकामा व्याख्या गर्नुपर्छ । जसकारण बच्चाले आफ्नो व्यवहारमा कस्तो प्रकारको परिवर्तन ल्याउनुपर्छ भन्ने कुरा बिस्तारै सिक्दै जान्छ । बच्चालाई परिवर्तन हुन दबाब दिनु हुँदैन ।
+ There are no comments
Add yours