०१ पुस, काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवर्द्धन सम्बन्धी प्रादेशिक अभिमुखीकरण कार्यक्रम हुने भएकाे छ । कार्यक्रम पुस २ गते काठमाडौंको होटेल बद्रीनाथ, गौशालामा सञ्चालन हुने भएको हाे ।
बागमती प्रदेश सहकारी अभियानको महत्त्वपूर्ण केन्द्र भएकाले पनि यो कार्यक्रमलाई विशेष रूपमा हेरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवर्द्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रदेशभित्रका चुनौतीहरूको समाधान खोज्ने मुख्य उद्देश्य रहेको महासङ्घका अध्यक्ष ओमदेवी मल्लले बताएका छन् ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले विशेष सम्बोधन गर्नेछन् । सहकारी अभियानलाई नजिकबाट नियालेका पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियान र यसको पछिल्लो चुनौतीका विषयमा आफ्नो विचार प्रस्तुत गर्नेछिन् । सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले ‘सहकारी सुशासन प्रवर्द्धन सरोकारवाला निकायहरूको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल कार्यक्रमका अर्को मुख्य आकर्षणका रूपमा रहेको छ ।
प्यानल सदस्यहरू राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा,बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिस्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल छन् । कार्यक्रमको मोडरेटर महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा छन् ।
देशभरका सहकारी संस्थाहरूको ३५ प्रतिशत यस प्रदेशमा रहेको छ । २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा छन् । कुल शेयर पुँजीको ५४.६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेका छन् । सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन र नयाँ दिशानिर्देश प्राप्त गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
+ There are no comments
Add yours