अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै

०१ पुस, काठमाण्डाै । अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी अनलाइन सेवाको शुरुआत गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच अनलाइन सेवाको उद्घाटन गर्नुभएको छ । मन्त्री पौडेलले अनलाइन सेवाबाट देशभरका नागरिक लाभान्वित हुने गरी सेवा विस्तार गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । अनलाइनमार्फत अङ्गदान गर्नेले दर्ता गराउन सक्ने र लिन चाहनेले त्यसबारे जानकारीसमेत पाउने व्यवस्था गरिएको हो ।

मस्तिष्क मृत्युपछि तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपणका लागि बिरामी उपचाररत अस्पतालले समेत तत्काल जानकारी प्राप्त गर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

नेपालमा १२ वर्षमा शहीद धर्मभक्त केन्द्रमार्फत एक हजार तीन सय ३५ जनामा मिर्गाैला तथा ३० जनामा फोक्सोको प्रत्यारोपण भइसकेको छ । दाता अभावमा अन्य अस्पतालले एक सय जनालाई मात्र अङ्ग प्रत्यारोपण गर्न सकेका छन् ।

जीवित व्यक्तिले परिवारलाई मात्र दिन पाउने तर मस्तिष्क मृत्यु भएपछि दान गर्ने दाता कम भएका कारण कैयौंले दाता अभावमा ज्यान गुमाउनु परिरहेको अवस्था छ । दाता, लिन चाहने बिरामी र अस्पताल बढ्दै जाँदा अनलाइन व्यवस्था प्रभावकारी बनेमा धेरैको ज्यान बचाउन मद्दत गर्ने विश्वास गरिएको केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours