०१ पुस, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न सर्च कमिटीलाई सकस परेको छ ।
यो कमिटीको बैठक आइतबार साँझ पाँच बजे बसेको थियो । तर आयोगका पदाधिकारी सिफारिसबारे निर्णय गर्न सकेन । सोमबार बिहान ८ बजे फेरि बसेको बैठकले पनि कुनै निर्णय लिन सकेन । अहिले चार बजे फेरि बैठक बस्न लागेको सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीले जानकारी दिए ।
सर्च कमिटीले दुवै आयोगको अध्यक्षका लागि सिफारिसमा परेका आठ जनाको अन्तरवार्ता लिइसकेको छ । अन्तरवार्ता दुई दिन लगाएर लिइएको थियो । अन्तरवार्ता सकिए पनि सर्च कमिटीले पदाधिकारी सिफारिस गर्न नसकेपछि उच्च राजनीतिक तहमा समेत छलफल भएको थियो ।
नेताहरूका अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा चार/चार पदाधिकारी एमाले र कांग्रेसले लिने सहमति छ । बाँकी दुई पदाधिकारी माओवादी केन्द्रले लिने सहमति छ । पदाधिकारीको संख्यामा कुरा मिलेतापनि नेतृत्वको विषयमा कुरा नमिल्दा सर्च कमिटीले निर्णय लिन सकिरहेको छैन ।
दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा सुदीप पाठक, डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छन् ।
पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी छ । कमिटीमा खातीसहित मनोज दुवाडी, डा.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिस गर्न गठित समितिले आज अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजे सकिएको थियो ।
यो अवधिमा आवेदन र सिफारिससहित १५६ जनाको नाम समितिमा प्राप्त भएको थियो । ८९ आवेदन व्यक्ति आफैं उपस्थित भएर, २० आवेदन अनलाइनमार्फत् परेका थिए भने ४७ जनाको नाम संघसंस्थामार्फत् सुझावको रूपमा प्राप्त भएका थिए । संघसंस्थाबाट परेका ४७ आवेदनमा पनि सम्बन्धित व्यक्तिको सहमतिसहित २० र सहमति नलिई २७ आवेदन परेका थिए ।
तीमध्येबाट ४० जनाको संक्षिप्त सूची समितिले यही मंसिर २२ गते सार्वजनिक गरेको थियो । समितिले सार्वजनिक गरेको अध्यक्षको सूचीमा अच्युतप्रसाद भण्डारी, काशिराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापती, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी थिए । भण्डारी र सिंजापतीको आवेदन अध्यक्ष र सदस्य दुवैका लागि थियो ।
आवेदकको कार्ययोजना समेतको मूल्यांकनका आधारमा छनोट समितिले दुई आयोगका लागि १० जनाको नाम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने छ । त्यो सिफारिस कानुन मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुग्ने छ ।
सिफारिस समिति गठन भएको मितिले दुई महिनाभित्र नाम सिफारिस गरिसक्नुपर्छ । ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समिति गत कात्तिक दुई गते गठन भएकाले आगामी पुस २ गतेभित्र नाम सिफारिस गरिसक्नुपर्ने छ ।
+ There are no comments
Add yours