प्रमुख शाह र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
२८ मंसिर, काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध १ गोल गर्नुभएको छ । ३० औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा उहाँले दोस्रो हाफमा गोल गर्नुभएको हो । खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरेको छ । खेलमा जनप्रतिनिधिको नेतृत्व गर्दै प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले खेल खेल्नुभएको थियो । ६० मिनेटको खेलमा उहाँहरु पूरै समय खेल्नु भएको थियो । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गर्नुभएको थियो ।
प्रमुख ११ कातर्फबाट प्रमुख शाहसँगै सन्तोष ढुङ्गेलले १ गोल, नविन भण्डारीले १ गोल, विनय शाक्यले १ गोल र अनुप मगरले १ गोल गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत ११ का तर्फबाट राजु पौडेलले २ गोल गर्नुभएको थियो ।
महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।
मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ । ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।
+ There are no comments
Add yours