२८ मंसिर, काठमाडौं। झापाको कमल गाउँपालिका ३ बाट अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल ३ स्थित केर्खाबाट गौरादह नगरपालिका ५ का २५ वर्षीय मोहम्मद नौसाद मियाँलाई डलरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
पूर्व–पश्चिम लोकमार्गमा सवारी साधन जाँच गर्ने क्रममा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५३० नम्बरको यात्रुबाहक बसमा सवार मियाँले बोकेको झोला जाँच गर्दा स्रोत नखुलेको डलर एक सय दरका २९७ थान फेला परेको हो ।
आजको नेपाली दररेटअनुसार उक्त डलरको नेपाली ४० लाख ३३ हजार आठ सय ५४ रहेको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
+ There are no comments
Add yours