प्रधानमन्त्रीको सहभागितामा ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ सुरु

२८ मंसिर, काठमाडौं । ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ काठमाडौंमा सुरु भएको छ । याक एण्ड यति होटलमा आयोजित उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।

यही कार्यक्रममा चीनका धर्मगुरु पन्चेन लामा समेत आउने चर्चा गरिएको थियो । तर, उनी कार्यक्रममा सहभागी भएका छैनन् ।

तीन दिनेसम्म चल्ने राउण्ड टेबलमा कम्तिमा २० देशका बौद्ध धर्मका भिक्षुहरु सहभागी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताए । उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्‌भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने उनको भनाइ छ ।

‘नेपाल चीन केवल सीमाभन्दा बढी धेरै विषय आदान प्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरनीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिंगन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रही आएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वाश लिएको छु ।’

एशियाको ज्योति मानिने गौतम बुद्धको पवित्र जन्मस्थान नेपालमा हुनु र उहाँका पाइलाहरूले धन्य बनेको यो भूमिले नेपाल र चीनको बौद्ध सम्पदाबीचको पुलको प्रतीक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङको नेपालको यात्राबाट नेपाली विद्वान बुद्धभद्रको चीन भ्रमणसम्म, हाम्रो साझा इतिहास ज्ञान र सिकाइको आदानप्रदानले भरिएको उल्लेख गरे ।

चीनमा नेपाली शैलीका बौद्ध मन्दिरहरूका वास्तुशिल्प चमत्कारहरू र लुम्बिनीमा झोङ हुआ चिनियाँ बौद्ध मठको भव्यताले यो दिगो सम्बन्धको लागि शाश्वत स्मारकहरूको रूपमा खडा रहेको पनि उनले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours