२६ मंसिर, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ–ह्युनले औपचारिक रुपमा गिरफ्तार हुनुअघि आत्महत्या प्रयास गरेको खुलेको छ ।
३ डिसेम्बरमा राष्ट्रपति युन सुक येओलले मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टर संसद्मा पठाएका थिए । तर, संसद् सदस्यले त्यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै सो आदेश फिर्ता लिन बाध्य भएका थिए ।
उक्त मार्सल ल अपरेसनमा आफ्नो भूमिकाबारे रक्षामन्त्री किमले गत बिहीबार राजीनामा दिएका थिए । मंगलबार ‘विद्रोहको समयमा महत्त्वपूर्ण कार्यमा संलग्न’ र ‘अधिकारको प्रयोगमा बाधा पुर्याउने दुरुपयोग’ लगायतका अभियोगमा उनी पक्राउ परेका थिए ।
संसदीय सुनुवाइका क्रममा कोरिया करेक्शनल सर्भिसका आयुक्त जनरलले पूर्वमन्त्रीले आफ्नो गिरफ्तारीको घोषणा हुनुभन्दा केही मिनेटअघि आत्महत्या गर्ने प्रयास गरेको बताए ।
‘मध्यरातको केही समयअघि पूर्व रक्षामन्त्री किम योङ–ह्युनले सोल डोङबु हिरासत केन्द्रमा आत्महत्याको प्रयास गर्नुभयो’, सिन योङ–हेले भने ।
बुधबार बिहान आफूले रिपोर्ट प्राप्त गरेको उल्लेख गर्दै सिनले किमले आफ्नो कपडाको डोरी प्रयोग गरेर शौचालयमा आत्महत्या गर्ने प्रयास गरेको बताएका छन् ।
‘कन्ट्रोल रुमका एक कर्मचारी सदस्यले हस्तक्षेप गरे र जब उनीहरूले ढोका खोले, उहाँले तुरुन्तै आत्महत्यको प्रयास त्याग्नुभयो’, सिनले भने ।
सिनका अनुसार किमको अहिले स्वास्थ्यमा समस्या छैन । ‘चिकित्सा परीक्षणका नतिजाहरूले कैदीको स्वास्थ्य स्थिति कुनै असामान्यता बिना राम्रो रहेको संकेत गर्दछ र उहाँले हाल सुविधामा सामान्य जीवन बिताइरहनुभएको छ’, न्याय मन्त्रालयले एएफपीलाई पठाएको विवरणमा उल्लेख छ ।
किमले मंगलबार आफ्ना वकिलमार्फत् ‘यस अवस्थाको सम्पूर्ण जिम्मेवारी मसँग मात्र छ’ भन्दै माफी मागेका थिए ।
+ There are no comments
Add yours