२६ मंसिर, काठमाडौं । काठमाडौंमा पहिलो संस्करणको नेपाल-भारत टुरिजम मिट सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा भएको कार्यक्रममा दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटका सम्भावित यात्रा योजनाबारे छलफल गरेका थिए ।
छलफलमा भारतका १३ र नेपालका १२० जना टुर अपरेटरहरू सहभागी थिए । विशेषगरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूमा भारतीय पर्यटकको ठूलो योगदान रहेको बताए ।
उनले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रम निरन्तरताका लागि आग्रह गरे ।
भारतीय दूतावासका चार्ज डे एफिएर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथहरूको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताए । उनले यसबाट भारत र नेपाल बीचको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत भएको उल्लेख गर्दै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्द्धनमा विभिन्न पहल तथा प्याकेज तयार गर्ने गरेको बताए ।
+ There are no comments
Add yours