२६ मंसिर, काठमाडाैं । संयुक्त राष्ट्रसंघीय संस्था युनाइटेड नेसन्स कन्भेन्सन टू कम्ब्याट डेजर्टिफिकेसन तथा युरोपेली आयोग संयुक्त अनुसन्धान केन्द्रले हालै विश्व मरुभूमि मानचित्र सार्वजनिक गरेको छ । जसमा निकै डरलाग्दो तथ्य सार्वजनिक गरिएको छ ।
उक्त रिपोर्ट अनुसार सन् २०५० सम्ममा विश्वको ७५ प्रतिशत जनसंख्या सुख्खा तथा खडेरीबाट प्रभावित हुनेछ ।
उक्त मानचित्रलाई इटालीको सिमा रिसर्च फाउन्डेसन, नेदरल्याण्डको एक विश्वविद्यालय र वातावरण तथा मानव सुरक्षाका लागि संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय संस्थाले तयार पारेका हुन् । जसमा सुख्खा खडेरीका कारण ऊर्जा, कृषि तथा व्यापारमा परिरहेको असरलाई विस्तृत रुपमा उल्लेख गरिएको छ ।
वास्तवमा सुख्खा तथा खडेरी केवल जलवायु संकट मात्र होइन । जमिन तथा पानीको प्रयोग तथा व्यवस्थापनसँग सम्बन्धित मानवीय कारणले सुख्खा र त्यसका प्रभावलाई झनै बढाउँछ । मानवीय कारणहरुमा पानीको गलत प्रयोग, फरक फरक क्षेत्रहरुको बीचमा पानीका लागि हुने प्रतिस्पर्धा, जमिनको अनुपयुक्त व्यवस्थापन तथा जलश्रोतको सही ढंगले आँकलन नगर्नु लगायतका रहेका छन् ।
एटलसबाट प्राप्त हुने डेटाबाट भविष्यका जोखिमहरुको व्यवस्थापन, निगरानी तथा पूर्वानुमानमा सहजता आउनेछ अपेक्षा गरिएको छ ।
विश्वमा सर्वाधिक मानिस कृषि क्षेत्रमा संलग्न रहेको देश भारतका खडेरी तथा सुख्खापनले कृषि उत्पादनमा भारी नोक्सानी हुने आँकलन रिपोर्टमा गरिएको छ । साथै जलस्रोतको गलत व्यवस्थापन तथा तिव्र रुपमा भैरहेको सहरीकरणले सहरहरुमा जलसंकट पैदा गरिरहेको छ ।
विज्ञहरुका अनुसार सब सहारा अफ्रिका क्षेत्र पनि सुख्खा तथा खडेरीको मारबाट सर्वाधिक प्रभावित हुने क्षेत्रको रुपमा रहेको छ । ज्ञानमा सुधार, सुख्खाको पूर्वानुमान तथा जोखिमलाई बुझ्ने काममा लगानीको आवश्यकता रहेको पनि विज्ञहरुको भनाइ छ ।
वातावरण तथा मानव सुरक्षाका लागि संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय संस्थाका कार्यकारी सचिव इब्राहिम थियावका अनुसार अब समय निकै कम भएकाले सबै मुलुकहरुलाई हालै जारी गरिको मरुभूमिकरण मानचित्रका निष्कर्षहरुलाई गम्भिरताका साथ समीक्षा गर्न र स्थीर, सुरक्षित तथा सुखद् भविष्य निर्माणका लागि काम कारबाही अघि बढाउन अपिल गरेका छन् ।
रिपोर्टमा सुख्खा तथा खडेरीबाट उत्पन्न हुने जोखिमहरुको सफलतापूर्वक व्यवस्थापन गर्नका लागि समुदाय तथा देशहरुलाई सक्रिय कदम उठाउनु पर्ने उल्लेख छ । उक्त मानचित्रले खडेरीको व्यवस्थापन तथा अनुकुलनका लागि प्रभावकारी रणनीतिक बनाउन सहयोग गर्नेछ । साथै यसले विभिन्न क्षेत्रमा जोखिमहरुको बीचमा आपसमा कस्तो सम्बन्ध छ भन्ने पनि बताउँछ ।
+ There are no comments
Add yours