प्रधानमन्त्री ओलीले गरे मेचीनगरमा मानवसेवा आश्रम भवन उद्घाटन

२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका-४ आमडाँडास्थित मानवसेवा आश्रमको जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। सोही क्रममा प्रधानमन्त्री ओली मानवसेवा स्मारक भवनको शिलान्यास समेत गरेका हुन्।

विभिन्न कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री ओली आज बिहान झापा आएका हुन्।

प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थल भद्रपुरमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। विमानस्थलबाट मानव सेवा स्मारक भवन उद्घाटन जाने क्रममा रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका थिए।

सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् । गृहजिल्ला झापा भ्रमण आउन लागेका नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको सुरक्षा थ्रेटलाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । आजै दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानीको उद्घाटन, ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनी पुर्जा वितरण, दिउँसो १२:३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्दै बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी,नेपाल प्रहरी,ट्राफिक प्रहरी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान गरी १३ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री सवार भएर जाने सडक किनार, बजार क्षेत्रदेखि चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

अराजक गतिविधि गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न सुरक्षाकर्मीलाई कडा निर्देशन दिइएको स्रोतको भनाइ छ । बिर्तामोडमा दिउँसो २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours