२३ मंसिर, काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान सञ्चालन गरिहेका छन् ।
यो अभियान लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजना गरिएका कार्यक्रम मध्ये एक हो । यस अभियानमा १० विद्यालयका करिब १ हजार ५ सय विद्यार्थी सहभागी भइसकेका छन् ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
‘लैंगिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैंगिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणले महिला र किशोरीलाई जोखिम बढाउँछ । यो अभियानले सुरक्षित समाज निर्माण गर्न प्रेरणा दिने विश्वास गरेका छौं । युवालाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्त्वपूर्ण छ,’ जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष विना रानाले भनिन् ।
ओरेन्ज द स्कूल अभियानले लैंगिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्त्वलाई उजागर गर्न सहयोग पुर्याएको एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले बताइन् ।
युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिने उनको भनाइ छ ।
२६ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।
+ There are no comments
Add yours