अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

२३ मंसिर, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् ।

काठमाडौंमा रहँदा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको भनाइ छ ।

लु अमेरिकी विदेश मन्त्रालयका प्रभावशाली सहायकमन्त्री मध्येका हुन् । उनले यसअघि पनि तीनपटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लोपटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

त्यसअघि उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आएका थिए ।

त्यसपछि अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुने विषयमा संवाद गर्न पनि नेपाल आइपुगेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एसपीपी प्रस्तावलाई अस्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्बाटै पारित गरेपछि उनी त्यसको केही समयपछि नै नेपाल आइपुगेका थिए ।

एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

संवाद भएको करिब दुई हप्तापछि १५ फागुन २०७८ मा नेपालको संसदले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको थियो ।

को हुन् सहायक विदेशमन्त्री डोनाल्ड लु ?

अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गरेका डोनाल्ड लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त भएका थिए ।

यसअघि सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिजस्तानमा अमेरिकी राजदूतका रूपमा काम गरेका थिए । अल्बानियामा राजदूत हुनुअघि उनी पश्चिम अफ्रिकामा चलेको बेलामा अमेरिकी विदेश मन्त्रालयबाट नियन्त्रण कार्यदलको सहायक संयोजक भएका थिए ।

उनले भारत, अजरबैजान, किर्गिजस्तानमा समेत बसेर काम गरेका छन् । त्यसअघि उनले मध्य एशिया र दक्षिण काकेसस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिला ब्यूरो आदि महत्वपूर्ण स्थानमा रहेर काम गरिसकेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours