२१ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको हो।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए। अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए।
तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके। अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भए।
यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन जोडे। रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे।
दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए। सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए।
पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिए।
+ There are no comments
Add yours