२० मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । शुक्रबार भएको विशेषज्ञ परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन् ।
काउन्सिल रजिस्ट्रार डा. सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भएका थिए । तर २४८ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । ७२ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा विथहोल्डमा राखिएको छ ।
चिकित्सा शिक्षातर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सक सहभागी थिए । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा बिहान ११ बजेदेखि १ बजेसम्म भएको परीक्षा चलेको थियो । काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ ।
परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगका लागि १५ सय रुपैयाँ दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।
विशेषज्ञ दर्ता प्रमाणपत्र वितरणका लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दस्तखत परीक्षण र सक्कल प्रमाणपत्र रुजु गरिने काउन्सिलले जनाएको छ । प्रमाणपत्र लिन तोकिएका सबै प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्नेछ ।
+ There are no comments
Add yours