वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्‍दै रकम ठगीको आरोपमा ३ जना पक्राउ

१७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–७ घर भई ललितपुर महानगरपालिका-१५ बस्ने ४४ वर्षीय धिरेन्द्र चौधरी, धनुषाधाम नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३६ वर्षीय राज कुमार महरा र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ३२ वर्षीय चन्द्र ब्लोन रहेका छन्।

पक्राउ मध्ये धिरेन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४८ हजार रूपैयाँ, राज कुमारले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र चन्द्रले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धिरेन्द्रलाई ललितपुर महानगरपालिका–१५ बाट र राजकुमारलाई काठमाडौं महानगरपालिका–७ बाट बिहीबार तथा चन्द्रलाई काठमाडौं महानगरालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours