१७ मंसिर, काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङको मुख्य टनेल ८२४.८१ मिटर खन्ने काम सकिएको छ । कुल १ हजार १ सय २६ मिटर लामो यो सुरुङ निर्माणको कामले पछिल्लो समय गति लिएको छ ।
सिद्धबाबा सुरुङ आयोजनाका अनुसार उत्तरतर्फबाट ३६८.०९ मिटर र दक्षिणतर्फबाट ४५६.७२ मिटर सुरुङ खनिएको छ । सुरुङमा लाइनिङको काम भने अझै थालिएको छैन । यहाँ सुरुङ बाहेक तीन बाइपासको काम जारी छ ।
पछिल्लो अपडेट अनुसार प्रोटेक्सन वर्कतर्फ दक्षिणमा १ हजार ४ सय ९५ वर्गमिटरको काम भएको छ । २ हजार ३ सय वर्गमिटरमा काम हुँदैछ । उत्तरतर्फ १ हजार १ सय वर्गमिटरमा प्रोटेक्सनको काम हुने लक्ष्य रहेकोमा ४ सय ९५ वर्गमिटर भइसकेको छ ।
विभिन्न पूर्वाधार निर्माणको भौतिक प्रगति ३३.५९ प्रतिशत पुगेको छ । यस आयोजनाको वित्तीय प्रगति ३२.२ प्रतिशत पुगेको छ ।
सुरुङ एक वर्ष अगाडिदेखि खन्न थालिएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरसनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २.५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।
बुटवललाई पोखरा र पश्चिम नेपालका विभिन्न गन्तव्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बन्दैछ ।
+ There are no comments
Add yours