‘पूर्ण बहादुरको सारङ्गी’को छायामा ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’, २७ औँ दिनमा दुइटा सिनेमाको भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’को शो बढी

१५ मंसिर, काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’पछि दुईवटा सिनेमा रिलिज भए । ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ ।

यी दुईवटै चलचित्रले सन्तोषजनक शो पाए । यी चलचित्रले दर्शकको साथ पनि पाए । दुबै चलचित्र ठूलै लगानीमा बनेका हुन् ।

तर अपेक्षित रुपमा भने यी चलचित्रले ग्रसकलेक्सन गर्न सकेनन् । तुलनात्मक रूपमा दुई हप्ता अगाडि रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मै दर्शक धेरै देखिए ।

आजबाट पाँचौं हप्तामा प्रवेश गरेको ‘पूर्ण बहादुरको सारङ्गी’मै हालसम्म पनि दर्शकको चाप देखिएको छ । दर्शक अझै पनि यही चलचित्रमा रहेपछि सिनेमा हलले पनि यही चलचित्रलाई धेरै शो दिएका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा बिहीबार (आज) ‘पूर्ण बहादुरको सारङ्गी’ एक्लैले बाँकी दुई चलचित्रको जम्मा शो भन्दा धेरै पाएको छ ।

क्यूएफएक्सका काठमाडौंका आउटलेटमा आज ‘पूर्ण बहादुरको सारङ्गी’ले ३५ शो पाएको छ । ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ले भने जम्मा २७ शो पाएका छन् । ‘ह्रस्व दीर्घ’ले ११ र ‘तेल भिसा’ले १६ शो पाएको छ ।

पाएका शो मा पनि ह्रस्व दीर्घ’ र ‘तेल भिसा’मा भन्दा ‘पूर्ण बहादुरको सारङ्गी’मै अकुपेन्सी बढी छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले करिब ४५ करोड ग्रसकलेक्सन गरिसकेको छ ।

‘तेल भिसा’ले तीन दिनमा एक करोड ३६ लाख ग्रसकलेक्सन गरेको छ । ‘ह्रस्व दीर्घ’ले भने ९ दिनमा ६ करो ६९ लाल ग्रसकलेक्सन गरेको छ ।

तेल भिसा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।

‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो । यो चलचित्र अमेरिका र नेपालमा छायांकन गरिएको छ ।

अमेरिकामा रहेका नेपालीले पाउने दुःख यो चलचित्रको मुख्य कथा हो ।

‘पूर्ण बहादुरको सारङ्गी’ सरोज पौडेलले निर्देशन गरेको चलचित्र हो । विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

चलचित्र ‘ह्रस्व दीर्घ’मा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मालगायत कलाकारको अभिनय छ ।

‘ह्रस्व दीर्घ’मा अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेत्री निता ढुंगानाको लगानी रहेको छ ।

नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours