१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । एक दिन पनि खालि हुन नहुने ठाउँमा सरकारले ११ महिना पछि गरेको भन्दै अवदेखि यस्तो अवस्था सिर्जना नगर्न सम्पुर्ण लगानीकर्ताहरुले अनुरोध गरेका छन् ।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेल, नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई मौद्रिक नीतिको समिक्षाका क्रममा समन्वय गरेर अगाडी बढ्न सुझाव दिएका छन् । उनिहरुले नेपालको शेयर बजारलाई नेपाल राष्ट्र बैंकका हरेक नीतिले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने भएकाले पूँजी बजार सँग सम्बन्धित कुराहरुमा बोर्ड सँग नियमित छलफल तथा समन्वय गरेर अगाडी बढ्ने वातावरण बनाउन उनिहरुले सुझाव दिएका हुन् । त्यस्तै पूँजी बजार सँग सम्बन्धित सम्पुर्ण संघ संस्थाले नयाँ स्टक एक्सचेन्जका लागि एउटै श्वर व्यक्त गरेका छन् । उनिहरुले नयाँ स्टक एक्सचेन्जका विषयमा प्रक्रिया अगाडी बढाउदै गर्दा भइरहेको नेपाल स्टक एक्सचेन्जलाई पनि सुधार गर्नु पर्ने माग राखेका छन् ।
नेपाल इन्भेष्टमर फोरमको अध्यक्ष तुलसीराम ढकालले नव नियुक्त अध्यक्ष श्रेष्ठलाई आफ्नो कार्यकालमा नेपालको पूँजी बजारलाई उच्च विन्दुमा पुर्याउने सफलताको शुभकामना व्यक्त गरेका छन् । उनले नेपाल राष्ट्र बैंकले छिट्टै मौद्रिक समिक्षा सार्वजनिक गर्ने तयारी गर्दै गर्दा अध्यक्षले तत्काल राष्ट्र बैंक सँग समन्वय गरेर पूँजी बजार सँग सम्बन्धित विषयमा तत्काल छलफल गर्न समेत अनुरोध गरेका छन् ।
उनले भने ‘आजका दिनमा बैंक वित्तीय संस्थामा अत्याधिक तरलता छ । करिव करिव हामी सँग ७ खर्ब भन्दा धेरै लगानीयोग्य रकम रहेको तथा व्याजदर घटेर न्युन विन्दुमा आइरहदा पनि पूँजी बजारमा सुधार हुन सकेको छैन । त्यसमा पनि ठुला राजनीतिक दलको सरकार हुँदा पनि बजारमा कन्फिडेन्स आउन सकेको छैन ।’ यस सन्दर्भमा लगानीकर्ताको कन्फिडेन्स बढाउने कार्यमा नेपाल धितोपत्र बोर्डको अहम भुमिका रहने उनको भनाइ छ ।
अहिले १२५ प्रतिशतको रिस्क वेटेजलाई १०० प्रतिशतमा झार्नु पर्ने ढकालको भनाइ छ । तत्काल मौद्रिक समिक्षा सार्वजनिक हुने तयारी रहेकाले शेयरधितो कर्जामा १५ करोडको सिमालाई हटाउन समेत अध्यक्षले पहल गर्नु पर्ने उनको सुझाव छ । बैंक वित्तीय संस्थाले लगानी गर्न नपाइरहेको सन्दर्भमा यदि बैंकलाई शेयर खरिद बिक्री गर्न दिने हो भने पूँजी बजार र बैंक दुबैलाई राम्रो हुने उनको भनाइ छ ।
लगानीकर्ताले कहिल्यै पनि शेयर बढाइदिनुहोस् घटाइदिनुहोस् भन्दा पनि नीतिगत सुधारमा पहल गरिदिनुहोस् भन्दै आइरहेको उनले बताए । अहिलेको अवस्थामा नागरिक लगानीकोष, सञ्चयकोष, नेपाल टेलिकम, बीमा कम्पनीहरु सँग यथेष्ट मात्रामा पैसा भएकाले यस्ता संस्थालाई पूँजी बजारमा भित्र्याउनु पर्ने उनको भनाइ छ ।
आजकादिनसम्ममा पनि एनआरएनले पूँजी बजारमा लगानी गर्न पाउने भन्ने कुरा कुरैमा सिमित छ, उनले भने ‘एनआरएनलाई कन्फिडेन्समा लिएर पूँजी संकलन गर्न सक्छौ ।’ अझै पनि शेयर कारोबार गर्ने ब्रोकरहरुको उपस्थिति प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहिरहेको सन्दर्भमा ७७ वटै जिल्लामा पुर्याउन अध्यक्षले भुमिका खेल्नु पर्ने उनको सुझाव छ ।
आजको सूचना तथा प्रविधिको युगमा पूँजी बजारलाई पनि प्रविधिमैत्री बनाउनु पर्ने अवस्था रहेकोले समय समयमा आउने नयाँ नयाँ औजारहरुलाई पनि प्रयोगमा ल्याउन अध्यक्षले महत्वपुर्ण भुमिका खेल्नु पर्ने उनको भनाइ छ । उनले भने ‘अहिल्यै पनि इन्ट्रा डे ट्रेडिङदेखि लिएर अक्सन मार्केटमा काम गर्न सकिन्छ ।’ ढकालले थपे, अध्यक्षको दुई जना प्रतिस्पर्धी बोर्डमै हुनु भएकाले उहाँहरुलाई कन्फिडेन्समा लिएर अगाडी बढ्नु पर्ने चुनौती उहाँ माझ छ । दुबै जनाको अनुभवलाई उपयोग गर्दै साथमा लिएर विज्ञ टिम बनाएर हिड्न समेत उनले अनुरोध गरेका छन् ।
लगानीकर्ताहरुले समय समयमा आफुहरु सँग पनि छलफल गरि सुझावहरु संकलन गर्न अनुरोध गरेका छन् । आजका दिनमा सिडिएससी प्रमुख विहिन छ । त्यस्तै नेपाल स्टक एक्सचेन्ज पनि निकट भविष्यमा खालि हुँदैछ । अध्यक्षले दुबैको नेतृत्व चयनमा समन्वयकारी भुमिका खेल्नु पर्नेछ । नेपाल धितोपत्र बोर्ड र नेप्से विचको सम्बन्ध सधै चिसिने गरेको छ । अध्यक्षले दुई संस्था विचको सम्बन्धलाई सुमधुर बनाउनु पर्ने लगानीकर्ताको सुझाव छ ।
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले विगत लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष नहुँदा विभिन्न समस्या झेल्नु परेको भन्दै यस अवधिमा अड्किएका कामहरुलाई तत्काल अगाडी बढाउन समेत अनुरोध गरेकी छिन् । लगानीकर्ताहरुले धितोपत्र बोर्डको अध्यक्ष इमान्दार, बजारको विषयवस्तु राम्रो बुझेको, लगानीकर्तालाई न्याय गर्न सक्ने व्यक्ति होस् भन्ने चाहेको हुँदा नव नियुक्त अध्यक्ष विगतका अध्यक्षको जस्तो विवादमा पर्ने अवस्था नआओस भन्ने उनले कामना गरेकी छिन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको तयारी गर्दै गर्दा धितोपत्र बोर्डका अध्यक्षले यस क्रममा चाल्नु पर्ने कदमहरु धेरै नै रहेको उनको भनाइ छ । शेयर बजारमा धेरै नै सप्लाइ आइरहदा बढ्नु पर्ने अवस्थामा पनि बढ्न नसकेको हुँदा यसलाई शुक्ष्म रुपमा हेरेर नीतिगत पहल गरिदिन उनले अनुरोध गरेकी छिन् । आगामी चार वर्षमा अध्यक्षले दीर्घकालसम्म सकारात्मक प्रभाव पार्न सक्ने नीतिगत व्यवस्था गर्न समेत उनको अनुरोध छ ।
धितोपत्र बोर्डको अध्यक्ष बोर्डमा मात्रै सिमित नभएर नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय, कम्पनी रिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी लगायतका सबै स्टेकहोल्डर सँग समन्वय गर्न सक्ने आफ्ना कुराहरु राखेर लागु गर्न सक्ने हुनु पर्ने पोख्रेलको भनाइ छ । अहिले धितोपत्र बोर्डमा आइपिओ निष्काशनका लागि धेरै वटा कम्पनी पाइपलाइनमा रहेको हुँदा एकै पटक अनुमति दियो भने भोलिका दिनमा ओभर सप्लाइ हुने तथा आवेदन दिन समस्या हुने हुन सक्ने हुँदा यसलाई सन्तुलित रुपमा अगाडी बढाउन समेत उनले अनुरोध गरेकी छिन् । अध्यक्षले ब्रोकर कमिशन, नेप्से कमिशन, बोर्ड कमिशन तथा सिडिएससी शुल्क लगायतका दरमा घटाउन पहल गर्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै शेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुलेलले नव नियुक्त अध्यक्ष शेयर बजारमा प्रत्यक्ष संलग्न नभए पनि अप्रत्यक्ष रुपमा जोडिदै आउनु भएकाले उहाँले पूँजी बजारको क्षेत्रमा राम्रो काम गर्ने अपेक्षा रहेको बताए । नव नियुक्त अध्यक्षले यस भन्दा अगाडीका अध्यक्षको भन्दा फरक ढङ्गबाट काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिसकेका छन् । अस्थिर नीतिका कारण लगानीकर्ताले नोक्सानी बेहोर्नु पर्ने अवस्थाहरु आइरहेकाले नव नियुक्त अध्यक्षले स्थायी नीतिगत व्यवस्थाको पहल गर्नु पर्ने फुलेलको सुझाव छ । अहिले भइरहेको स्टक एक्सचेन्जबाट जे जति काम हुनु पर्थ्यो त्यो नभइरुहेको अवस्थामा अध्यक्षले यस विषयमा नयाँ स्टक एक्सचेन्जको प्रक्रिया समेत अगाडी बढाउनु पर्ने उनको सुझाव छ । नेपालमा कारोबार गर्ने लगानीकर्ताहरुले पनि अन्तर्राष्ट्रिय स्तरमा रहेका एक्सचेन्ज तथा बजारलाई देखिरहेको हुँदा उनिहरुको अपेक्षा अनुसारको बजार विकास र विस्तार गर्नु पर्ने उनको भनाइ छ ।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले अहिलेका अध्यक्ष निजी क्षेत्रमा काम गरेर आउनु भएकाले लगानीकर्ताहरुको हित संरक्षण हुनेमा ठुलो आशा राखिएको बताए । अध्यक्षबाट पूँजी बजारलाई नयाँ उचाइमा पुर्याउने, बजारको दायरा फराकिलो बनाउने, वित्तीय सुशासन कामय गर्ने, बजारमा देखिएका बिक्रितीहरु अन्त्य गर्ने जस्ता कामहरुको अपेक्षा गरिएको पाण्डेले बताए । खासगरी धितोपत्र बोर्डको अध्यक्षले अभिभावकको रुपमा काम गर्नु पर्ने उनको भनाइ छ । अहिलेको अवस्थामा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको तर एकदमै पारदर्शी ढङ्गबाट ल्याउनु पर्ने उनको भनाइ छ । सँग सँगै पुरानो स्टक एक्सचेन्जको पनि क्षमता विकास गरेर प्रतिस्पर्धी बनाउनु पर्ने उनको धारणा छ ।
लगानीकर्ताहरुले पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डलाई दिएका सुझावहरु
• धितोपत्र बोर्डलाइ पुँजीबजार क्षेत्रको अन्तर्राष्ट्रिय संस्था International Organization of Securities Commissions (IOSCO) काे पूर्ण सदस्यता प्राप्त गराउनुपर्ने र नेपाल धितोपत्र बोर्डले यसको पूर्ण सदस्यता यथाशीघ्र लिनुपर्ने र यसको मूल्य मान्यताको आधारमा बोर्डका क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने ।यसैको मूल्य मान्यताको आधारमा पुँजीबजारसँग सम्बन्धित ऐन कानुनहरू संशोधन गरी अन्तर्राष्ट्रिय स्तरको पुँजीबजार बनाउनको लागि यथाशीघ्र पहल गर्ने
• पारदर्शी रूपमा र्मार्जिन ल्यन्डिङ गर्ने व्यवस्थाको तत्काल नीतिगत व्यबस्था गर्नु पर्छ ।
• बजारको दायरा फराकिलो बनाउनको लागि गैर आवासीय नेपालीहरूलाई विनाशर्त दोस्रो बजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था तुरुन्त लागू गरिनुपर्छ। यसले अन्तर्राष्ट्रिय बजारमा छरिएर रहेको लगानी नेपालको पुँजी बजारमा आई बजारलाई थप चलायमान बनाउन मद्दत गर्दछ ।
• धितोपत्र बोर्डले बोर्डको उद्देश्य अनुरुप लगानीकर्ताको हकहित र संरक्षणको लागि काम गरोस्। लगानीकर्तालाई मर्का पर्ने गरी कुनै पनि कम्पनीको आइपीओ प्रिमियम र बुकवेल्डिङ माध्यमबाट जारी गर्नुभन्दा पहिले त्यो कम्पनीको पूर्ण वस्तुस्थिति कम्पनीको दायित्व कम्पनीले दिन सक्ने प्रतिफल दिइरहेको प्रतिफल लाई गणना गर्ने गरी यस्तो विधि अपनाइयोस् कुनै घरनाको प्रभावमा परेर प्रतिफलै दिन नसक्ने कम्पनीको बुक बिल्डिङ र प्रिमियममा आइपिओ निष्कासन गर्ने कार्य तत्कालै बन्द होस्। कम्पनीहरूको IPO जारिगर्दा १०० भन्दा बढि हुन नहुने कानूनी व्यवस्था हुनुपर्ने ।
• धितोपत्र बोर्डले निर्देशिकाहरु तयार गर्दा लगानीकर्ताको हितमा हुनेगरी तयार गर्ने र निर्देशिकालाई सचिव स्तरीय निर्णयबाट स्वीकृत गर्ने परिपाटीको अन्त्य होस् नियमावली र निर्देशिका धितोपत्र ऐन र कम्पनी ऐनसँग नबाजिने गरी लागूहोस्।
• कम्पनीहरूको आइपिओ जारी गर्दा कम्तिमा ३०% सेयर पब्लिकमा जाने गरी होस् जसबाट दोस्रो बजारमा चलखेल हुन पाउँदैन
• सबै आइपिओ जारी गर्ने कम्पनी र सूचीकृत भएका कम्पनीहरूमा संस्थापक सेयरको स्वामित्व र सर्वसाधारणको स्वामित्व क्रमश ५१/४९ प्रतिशत हुनु जरुरी छ। यसले संस्थागत लगानीकर्ताको कम्पनीप्रतिको उत्तरदायित्व र जिम्मेवारीमा निरन्तरता रहन्छ।
• कुनै पनि कम्पनीको राइट सेयर जारी गर्दा कम्पनीको पूर्ण वस्तुस्थिति र उसको बिजनेस प्लान, विगतको ट्रयाक रेकर्ड हेरेर मात्र स्वीकृत गर्ने व्यवस्था होस्।
• पुँजीबजारमा अत्यधिक पब्लिक कम्पनीहरू आउन चाहिरहेको अवस्थामा दोस्रो बजारमा आपूर्ति बन्न जानेर बजार चलायमान हुन नसक्ने अवस्था आउने हुनाले धितोपत्र बोर्डले तत्काल स्टक डिलरको लाइसेन्स खुल्ला गरी कम्तिमा अर्ब पुँजी भएका १० वटा स्टक डिलरहरू दोस्रो बजारमा ल्याउनुपर्ने देखिन्छ जसले आगामी दिनमा माग र आपूर्तिको सहज रुपमा व्यवस्थापन गर्न सक्छ।
• दोस्रो बजारमा कारोबार हुने कम्पनीको र समग्र बजारको प्राविधिक विश्लेषण गर्ने कथित विश्लेषकहरू अहिले बजारमा छ्यापछ्याप्ती छन्। सामाजिक सञ्जालमा यिनीहरू बेलगाम पोष्ट गरेर बजारलाई प्रभावित गर्ने काम भइरहेको हुनाले धितोपत्र बोर्डले निश्चित मापदण्ड बनाई प्राविधिक विश्लेषकको लाइसेन्स जारी गर्नुपर्ने देखिन्छ बजारलाई प्रभाव पार्ने कुनै पनि सूचनालाई सूक्ष्म निग्रानीमा राख्नुपर्ने देखिन्छ ।
• अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट कुनै उद्यम वा व्यवसाय सञ्चालन गर्नको लागि सहज रुपमा ऋण लिन पाउने व्यवस्था संकुचन भएको छ। लगानीकर्ताले ऋण लिनुपूर्व बैंक तथा वित्तीय संस्थाहरूमा पेश गर्नुपर्ने कागजपत्रहरु जस्तै आयस्रोत इन्कम ट्याक्स बुझाएको डकुमेन्ट इत्यादि इत्यादि झन्झटिलो प्रोसेस भएको कारण ऋण प्रवाह हुन सकिरहेको छैन। यसलाई सरलीकृत गर्नुपर्ने र ऋणको ट्रयाक रेकर्ड र बिजनेस प्लानको आधारमा ऋण प्रवाह गर्दा अर्थतन्त्रमा टेवा पुग्छ र बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता उपयोग समेत हुन्छ।
• कम्पनीहरूको सञ्चालकहरूको नियुक्ति गर्दा स्वार्थ नबाजिने गरी पारदर्शी रुपमा नियुक्ति गर्नुपर्ने व्यवस्था लागू हुनुपर्ने ।
• धितोपत्र बोर्ड नेप्से सिडिएसले निति निर्माण गर्ने क्रममा अनिवार्य रूपमा लगानीकर्ताबाट पनि प्रतिनिधित्व हुने गरि व्यवस्था गराउनु पर्ने ।
• निति नियम निर्माण गर्दा अध्यान अनुसन्धान गरेर मात्र स्थाई,दृघकालिन र व्यवहारिक प्रकृतिका हुनुपर्ने।
• शेयर ईन्भेस्टरको आईडेन्टिटि को व्यवस्था हुनु पर्ने।
• शेयर कर्जा लिंदा क्यापिटल गेनलाई लगानिकर्ताको आम्दानिको स्रोतको रूपमा लिनु पर्ने
• स्थानीय,प्रदेशिक र क्षेत्रीय तहगत अध्ययन अनुसन्धान गरि सम्भावना बोकेका सम्भावित व्यवसायलाई निजि क्षेत्रले सकेको खण्डमा निजि ले नसकेको खण्डमा सरकारि क्षेत्रले आईपियो ल्याउने व्यवस्थाको अभियान गर्नु पर्ने।
• धितोपत्र बजार बिकासका लागि लगानिकर्ता शिक्षा, तालिम को व्यवस्थालाई व्यापक बनाईनु पर्ने।
• लघु उद्यमीहरूलाई बिकास बिस्तार गर्न उपयुक्त मापडण्ड पुरा गर्न सकेका साना तथा मझौला उद्योगहरूलाई आईपियो मा आउन प्रोत्साहन गरिनु पर्ने।
+ There are no comments
Add yours