सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?

११ मंसिर, काठमाडौँ । सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य घटेसँगै देशभरका व्यवसायीसँग भएको सुनको स्टक मूल्य समेत त्यही अनुसार घटेको छ । यसले व्यवसायीहरूमा ठुलो नोक्सान भएको देखिन्छ ।

तर, सरकारको यो निर्णयको सुनचाँदी व्यवसायीहरूले भने स्वागत गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य सुनमा भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँछन् । आफूहरूले लामो समयदेखि भन्सार दर समायोजन गर्न माग गर्दै आएकोमा सरकारले यो माग पूरा गरेको उनको भनाइ छ ।

‘हामीले पहिलेदेखि नै माग गर्दै आएको कुरा हो । सरकारले घटाएपछि सुन स्टकमा रहेका व्यवसायीलाई नोक्सान त भयो, तर यसले सुनचाँदीको कारोबार र अवैध आयात पनि घट्नेछ । यसले बजारलाई चलायमान बनाउन सहयोग गर्नेछ,’ उनले भने ।

भारतको भन्दा सुनमा भन्सार दर बढी भएकै कारण अहिले तस्करी हुँदै आएको थियो । सोही कारण सीमावर्ती बजारमा त सुनचाँदी व्यवसाय ठप्प प्राय नै थियो । तस्करी गर्नेले धेरै नाफा कमाउने भएकोले तस्करीको सुन ओसारपसार भइरहेको थियो ।

अब यो अवस्था समेत धेरै घट्ने उनको भनाइ छ । नेपालीले पनि सीमावर्ती भारतीय बजारमा गएर सुन ल्याउने प्रवृत्ति कम हुने शाक्य बताउँछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours