स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखी हुने अनुसन्धानलाई प्रोत्साहित गर्छु- स्वास्थ्य मन्त्री पौडेल 

१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको भविष्यलाई ध्यानमा राखेर हुने हरेक अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहित गर्ने बताएका छन्। सोमबारबाट काठमाडौंमा सुरु भएको फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)को २४औं शिखर सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

‘स्वास्थ्य क्षेत्रको भएका हरेक अध्ययन अनुसन्धानले नयाँ पुस्तालाई सकारात्मक प्रभाव पार्न सकोस्’,’भविष्यका लागि सोचेर अनुसन्धान गर्न अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्छु’, उनले भने।

नेपालमा हुँदै आएका अध्ययन अनुसन्धानले अन्तर्राराष्ट्रिय मान्यता पाउन सफल भएकोमा मन्त्री पौडेलले खुसी समेत व्यक्त गरे। जसले नेपालका अनुसन्धानकर्ताहरुलाई आत्मविश्वास समेत बढाएको उनले बताए।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा हुने अनुसन्धानमा स्वास्थ्य मन्त्रालय तथा सरकारबीच समवन्य तथा सहकार्य हुनुपर्ने बताए। ‘सहकार्य र समन्वयमा हुने यस्ता कार्यक्रम प्रतिफल अझै सकारात्मक हुन्छ’ , उनले भने।

आजदेखि ४ दिनसम्म चल्ने उक्त सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरुको महत्वपूर्ण उपस्थिति रहने बताइएको छ।

सम्मेलनका लागि अनुसन्धान आचार संहिताका विभिन्न विधामा प्राप्त भएका जम्मा ३०० वटा अब्स्ट्र्याक्ट मध्येबाट अन्तराष्ट्रिय अब्स्ट्र्याक्ट सेलेक्सन कमिटीबाट निर्धारित मापदण्ड अनुरुप रहेर ९० वटा मौखिक र १३ वटा पोस्टर प्रस्तुतीकरण छनोट गरिएको छ। सोमध्ये ६१ वटा प्रस्तुतीकरण अन्तर्राष्ट्रिय विज्ञहरुबाट हुनेछ भने २९ वटा प्रस्तुतीकरणहरु राष्ट्रिय विज्ञहरुद्वारा गरिनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours