भन्सार घट्दा सुनको भाउ तोलाको १६ हजार रुपैयाँ घट्यो

१० मंसिर, काठमाडाैं । गत मंसिर २ गतेदेखि लगातार बढिरहेको सुनको भाउमा आज भारी गिरावट आएको छ । छापावाला सुनको भाउ सोमबार एकैदिन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेको हो ।

भन्सार दर र अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले त्यसको प्रभावले स्थानिय बजारको मूल्यमा गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।भन्सार दरको १० प्रतिशत र अन्तर्राष्ट्रिय बजारमा ५० प्रतिशत मूल्य घटेकोले आज सुनको भाउ १५ हजार ९०० रुपैयाँले घटेको पूर्व अध्यक्ष शाक्यको भनाइ छ ।

बिहीबार सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । जसअनुरुप आइतबारदेखि व्यवसायीहरुले १० प्रतिशत मात्रै भन्सार शुल्क तिरेर सुन आयात गर्न थालेका छन् । त्यसैले सोमबार भाउ घटेको हो ।

सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सुनको आयातमा उल्लेख्य गिरावट आएपछि सरकारले पनि भन्सार महसुल दर घटाउने निर्णय गरेको थियो । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पु¥याएका थिए ।

नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब ४२ करोडको १३२ दशमलव ५६ किलो सुन आयात गरेको भन्सार विभागले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब २० करोड रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम सुन आयात भएको थियो ।

यस्तो छ आजको भाउ

सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार छापावाला सुनको भाउ एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय १५ रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७०.३८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.७७ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours