१० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री केपी शर्मालाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफलमा नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए ।
‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुपर्यो । जसले पहिलो निम्तो दिन्छ त्यहीँ जाने’ छलफलमा राखेको विषयवस्तुबारे पूर्वप्रधानमन्त्री नेपालले भने ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामूहिक छलफल गरेका हुन् ।
नेपालका प्रधानमन्त्रीहरुले पहिले औपचारिक भ्रमण भारतबाट गर्ने गरेका थिए । प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमणको गृहकार्य सुरु गरेका थिए । चीन भ्रमणका एजेण्डाबारे ओलीले आज सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग संयुक्त छलफल आयोजना गरेका थिए ।
छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
‘कुनै पनि छिमेकी मुलुकहरुविरुद्धमा नेपाली भूमि प्रयोग गर्न दिइँदैन । यसअर्थमा हामी संसारका सबै देशहरुमा मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं,’ नेपालले भने, ‘कसैसँग हाम्रो शत्रुता छँदा पनि छैन, हाम्रो त्यो चाहना पनि छैन । नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।’
+ There are no comments
Add yours