गन्तव्यको अर्को गढी रानीकोट

०८ मंसिर,काठमाडौँ । रानीकोट गढी, नामैले धेरैलाई आकर्षित गर्छ। जसको पूर्वमा आशापुरी महादेव, पश्चिममा अनन्तलिंगेश्वर महादेव र दक्षिणपट्टि मुरलीश्वरम महादेवको मन्दिर छ। स्थानीयका अनुसार भक्तपुरकी रानी यहाँ आई बसेकाले रानीकोट भन्ने नाम रहन गएको हो। पहिला यहाँ रानी बस्नका लागि दरबार र किल्ला बनाइएको थियो। हाल पनि रानीकोट गढी पुगेर हेर्दा त्रिकोण आकारका कोठाको जस्तो देखिने ठाउँ छन्।

त्रिकोण आकारका तीन वटा भागहरू यहाँ देख्न सकिन्छ। पहिला पुरातत्त्व विभागले ती त्रिकोण आकारका भागहरूमा खनेर हेर्दा तीन फिटमुनि तीन प्रकारका इँट र झिंगटीको जग भेटिएको र त्यसको अध्ययनका लागि ती वस्तुहरू पुरातत्त्व विभागमा लगिएको स्थानीय रमेश श्रेष्ठ बताउँछन्।

रानीकोट गढी ग्रामीण पर्यटनको अथाह सम्भावना बोकेको ऐतिहासिक स्थल हो। रानीकोट गढीको सम्पदा पर्यटन यो गढी काभ्रे र भक्तपुर दुई वटा जिल्लाको बीचमा पर्छ। रानीकोटको थुम्को काभ्रे जिल्लाको पनौती नगरपालिका–१ साथै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालीका–७ ध्यापेडाँडाको शिर भागमा पर्छ।

पुरातत्त्व विभागको अध्ययनकै बेलामा एक स्थानीयले यसै क्षेत्रबाट एक तरबार जस्तो हतियार, आफूले पहिला घर लगेर राखेको भनी बुझाएका थिए। दियो र मूर्ति पनि रानीकोट गढीमा फेला परेको स्थानीय बताउँछन्। पहाडको थुम्कोमा अवस्थित हुनाले यहाँबाट उपत्यकाका साथै आकाश खुलेको बेलामा सुन्दर हिमालका दृश्यहरू पनि सजिलै देखिन्छन्। २०५५ सालदेखि यस क्षेत्रको संरक्षणका लागि पहल हँुदै आएको छ। पहिलापहिला स्थानीयले गाईबस्तु चराउन यो क्षेत्रको प्रयोग गर्ने गरेका थिए।

हाल पुरातत्त्व विभाग र स्थानीयवासीको पहलमा गढीसम्म पुग्न फलामको रेलिङसहितको सिँढीको निर्माण गरिएको छ। यस गढी संरक्षण समितिको पहलमा सरसफाइ र संरक्षणसम्बन्धी काम भइरहेका छन्। त्यहाँ बस्न फलामको बेन्चहरूको पनि व्यवस्था गरिएको छ।

पहिला प्राचीनकालमा यस स्थानमा अन्यत्रबाट रानी आइबसेकाले यसलाई रानीकोट भनिएको स्थानीय बताउँछन्। रानीसँगै केही सिपाही आएका थिए। यो भाग पहाडको थुम्कोमा छ। युद्धका लागि पनि यो ठाउँ विशेष महत्त्वको रूपमा मानिन्थ्यो। स्थानीयका अनुसार पृथ्वीनारायण शाहले नेपाल उपत्यका आक्रमण गर्दा यही गढीको मर्मत गरी प्रयोग गरेका थिए। प्राकृतिक रूपमा पनि यो ठाउँ निकै सुन्दर र मनमोहक छ। वरपर घनाजंगलले गढीलाई ढाकेको छ, बीचको गढी भएको क्षेत्र अझै पनि खुल्ला छ। यसको तल्लो भागमा केही बस्ती छन्।

रानीकोट गढीको चारैतिर सल्ला, चिलाउनेलगायत रुखले घेरिएको छ। गाउँका मानिस खेतीपाती र पशुपालनमा संलग्न हुने हुनाले आफ्ना गाईबस्तुलाई चराउन यो क्षेत्रको प्रयोग गर्ने गर्थे। यसको ऐतिहासिक महत्त्वबारे पनि स्थानीयको फरकफरक मत छ। कसैले भक्तपुरको रानी यस क्षेत्रमा आएर बसेको बताउँछन् भने कतिपयले यही ठाउँको हो भनी भन्न नसकेको स्थानीय बताउँछन्।

यस गढी वरपर केही बस्ती छन्। यहाँ नेवार, तामाङ र सापकोटा थरका मानिस बसोबास गर्दै आएका छन्। विभिन्न थरका मानिस रहे पनि उनीहरू एकअर्कामा मिलेर बसेका छन्। यहाँका मानिस विशेषगरी खेतीपाती, पशुपालनमा लागेका छन्। विशेषगरी उनीहरू सागपात र आलु उत्पादन गर्छ। तर रातको समयमा मृग आई सागपात खाइदिने साथै बँदेलले आलु खनेर खाइदिनाले उत्पादन कम हुने गरेको छ। स्थानीय सरकारले कहिलेकाहीँ केही रकम क्षतिपूर्तिस्वरूप दिने गरेको छ तर त्यो निकै न्यून रहेको गुनासो तिनको छ। आफूले दु:ख गरी उत्पादन ग¥यो तर बाली भित्त्याउने बेलामा यसरी जंगली जनावरले गर्ने क्षतिबाट स्थानीय मर्कामा छन्।

रानीकोट गढीमा पहिला रहेको गढीको अवशेष अझै पनि केही देखिन्छ। पहाडको थुम्कोमा सम्म परेको चौडा क्षेत्र छ। यस क्षेत्रमा त्रिभुज आकारको तीन वटा खाल्डाजस्ता क्षेत्र छन्। वरपर अझै पनि इँट र झिँगटीका टुक्रा यत्रतत्र छरिएको भेटिन्छ। कोरोनाअघि पुरातत्त्व विभागले यस क्षेत्रको अध्ययन गरी गढी क्षेत्रमा रहेको पर्खाल तीन फिट गहिरो खनेको थियो। त्यहाँ भेटिएको झिँगटी, इँट, एउटा तरबार संकलन गरी लगेको कुरा स्थानीयगढी संरक्षणमा लागेका अगुवा रमेश श्रेष्ठ बताउँछन्।

यसबाहेक यहाँ कुनै अभिलेख भेटिएको छैन। गढीसम्म पुग्न सिमेन्टको सिँढीहरू बनाइएको छ। यसमा फलामको रेलिङ पनि राखिएको छ। ऐतिहासिक महत्त्व बोकेको यस क्षेत्रको प्रचारप्रसार र संरक्षण त्यति हुन सकेको छैन। गढी क्षेत्रमा बस्नको लागि फलामको बेन्चको व्यवस्था गरेको छ।
हाल त्यो पनि राम्रो अवस्थामा छैन।

रानीको गढीको हालको स्थितिलाई हेर्दा पनि यो गढी निकै व्यवस्थित रूपमा निर्माण गरिएको देखिन्छ। गढीको वरिपरि चारैतिर खोल्ला वा कुलोको निर्माण गरिएको छ। स्थानीयका अनुसार, गढीको चारैतिर यसरी खोल्ला वा कुलो बनाउँदा त्यहाँ पानी जम्मा हुन्थ्यो। त्यसले गर्दा सर्प, बिच्छी र अन्य आक्रामक जंगलीजन्तु गढीसम्म पुग्न नसकुन् भनी यो घेराको निर्माण गरिएको बताउँछन्। गढी रहेको क्षेत्र सम्ममैदान छ। केही फराकिलो पनि छ। रानीकोटबाट काठमाडौं उपत्यका सहजै देख्न सकिन्छ। यस्ता ठाउँहरू युद्धका लागि सामरिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ। अग्लो ठाउँबाट आफ्ना शत्रुहरू आएको सजिलै देख्न सकिने हुनाले पहिला यस्ता ठाउँलाई किल्लाको रूपमा प्रयोग गरिन्थ्यो।

सम्पदा पर्यटनको अवस्था : मठ, मन्दिर, गढी, चोकहरू हाम्रा सांस्कृतिक धरोहरहरू हुन्। पर्यटनको चर्चा गर्दा यस्ता क्षेत्रहरूको विशेष महत्त्व रहँदै आएको छ। रानीकोट गढी उपत्यकाबाट नजिकै रहे पनि ओझेलमा परेको देखिन्छ। वरपरका अन्य गढी जस्तै सिन्धुलीगढी, नगरकोट नाल्दुम गढीको चर्चा तथा अध्ययन भइरहेको छ। तर रानीकोट गढीको हालसम्म विस्तृत अध्ययन भएको देखिँदैन। संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले अनन्तलिंगेश्वर नामक पुस्तकमा यस गढीबारे थोरै चर्चा गरिएको छ। त्यसबाहेक अन्यत्र यसबारे उल्लेख भएको पाइँदैन।

सूर्यविनायक मन्दिरबाट झन्डै सात किलोमिटर दक्षिणतर्फ झन्डै दुई, तीन घण्टाको उकालो हिँडेपछि रानीकोट पुगिन्छ। पहिला चरण क्षेत्रको रूपमा रहेको यो क्षेत्र २०५४ सालमा छेवैको बाघभैरव मन्दिर चर्चामा आयो। त्यसपछिमात्र यो गढीको बारेमा पनि मानिसको चासो बढ्न थालेको देखिन्छ। स्थानीय मानिसले यस ऐतिहासिक गढीप्रति चासो देखाए। अनिमात्र यहाँको भौतिक विकास पनि सुरु भयो।

पहिला ध्याम्पे डाँडाबाट रानीकोट गढीसम्म पुग्नलाई गोरेटो बाटो मात्र थियो। २०६३ सालमा यो गढीको संरक्षणका लागि समिति बन्यो। यस समितिले गढी वरपरको झारलाई हटाई सरसफाइ गरी गढीको संरक्षणको काम सुरु ग¥यो। यस क्षेत्रबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यसैलाई मध्यनजर गरी स्थानीयवासीकै पहलमा गढी क्षेत्रमा फलाम र काठको बेन्च राखियो। ग्रामीण पर्यटनको विकासका लागि पहलहरू सुरु भए।

हाल गढी संरक्षण समिति र सामुदायिक वन समूह मिलेर गढीसम्म पुग्न दुईतर्फबाट सिमेन्टको सिढीको निर्माण गरिएका कारण गढी हेर्न आउने मानिसका लागि गढीसम्म पुग्न सहज भएको छ। प्राकृतिक रूपमा सुन्दर यस क्षेत्र अथाह पर्यटनको सम्भावना बोकेर संरक्षणको पर्खाइमा छ।

रानीकोट गढी संरक्षण : यो ऐतिहासिक महत्त्व बोकेको निकै रमणीय गढीको संरक्षणको आवश्यकता महसुस गर्दै स्थानीय अगुवा लागिपरेका छन्। आफूले सानैदेखि देख्दै आएको यो क्षेत्रको विकास र संरक्षण गर्नुपर्ने कुरा स्थानीयवासी बताउँछन्। यस रमणीय गढीको संरक्षण विशेषगरी रानीकोट विकास समाज, श्री बाघभैरव सेवा केन्द्र, सामुदायिक वन समूह, गुण्डु र सिपाडोल, रानीकोट गढी संरक्षणमा पुरातत्त्व विभागले पनि पहल गरेको छ।

गढीसँगै पुरातत्त्व विभागले साइबोर्ड पनि राखेको छ। यो क्षेत्र भक्तपुर र काभ्रेको सिमानामा पर्ने हुनाले यहाँको बाटोका लागि पनि दुवै जिल्लाका स्थानीय सरकारले चासो देखाएका छन्। तर कच्ची बाटो फराकिलो भए पनि पानी परेको बेला स्थानीय मानिसलाई आवतजावत गर्न समस्या भइरहेको छ। प्राकृतिक रूपमा सुन्दर यो क्षेत्र ऐतिहासिक रूपमा पनि विशेष महत्त्व बोकेको छ। यस्ता क्षेत्रहरू न्यूनतम विकासका आधारहरूको निर्माणबाट जोड्न सके आन्तरिक पर्यटकको सम्भावना बढ्दै जानेछ।

रानीकोटको प्राकृतिक सौन्दर्यका कारणले हाल केही मानिस यस क्षेत्रमा घुम्न आउने गरेका छन्। यस क्षेत्रमा केही मात्रामा होटल, गेस्ट हाउस पनि खुलेका छन्। ध्याम्पेडाँडादेखि यो ठाउँसम्म पुग्न कच्ची बाटो बनेको छ। पहाडको थुम्कोमा रहेको रानीकोट ऐतिहासिक दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

अनुसन्धानकर्ता, विद्यार्थी साथै अध्ययनकर्ताका लागि यसको विशेष महत्त्व छ। यत्रतत्र छरिएर रहेका झिँगटी र इँटहरूले इतिहासबारे बताइरहेका छन्। खुल्दै गरेका होटलहरू पनि यस क्षेत्रमा रोजगारीको अवसरहरूको सिर्जना गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours