०५ मंसिर, काठमाडौं । कठमाडौं महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिक सहित विद्युतीय र अन्य सवारीसाधन मर्मतको ‘अन द जब ट्रेनिङ’ मा पठाउने भएको छ ।
यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गरेका छन् ।
गत वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० र इलेक्ट्रिकल भेइकल (ईभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए ।
उनीहरू सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाएका थिए । सहरी योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार इच्छुक ५० मध्ये ३० छनोट गरेर ‘अन द जब ट्रेनिङ’ मा पठाइने छ । यसरी पारिश्रमिक सहित तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । जसअनुसार प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले अन द जब ट्रेनिङका लागि सिफारिस गर्ने छ । त्यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्ने छ ।
यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्ने छ ।
महानगरले विश्व श्रमिक दिवस २०८१ (१९ वैशाख) को अवसर पारेर टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको थियो । ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब टे«निङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिन ६८ हजार ८ सय ६६ जनाको आवेदन परेको थियो ।
१० विधाका ३० पेसासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७ सय १५ जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।
+ There are no comments
Add yours