२३ देश सहभागी ‘फिडिक’ एसिया प्रशान्त क्षेत्र अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

०५ मंसिर, काठमाडौं । विश्वभरिका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’ एसिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । सोमबार फिडिक अध्यक्ष क्याथरिन काराकात्सानिस तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा सम्मेलन सुरु भएको हो ।

नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स’ (स्काएफ) को आयोजनामा सुरु भएको सम्मेलन आजसम्म चल्नेछ ।

२३ देशका प्रतिनिधि, १ सयभन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय राष्ट्रिय सहभागी तथा पर्यवेक्षक सहभागी सम्मेलनमा फिडिक अध्यक्ष काराकात्सानिसले जलवायु परिवर्तन जस्तो संवेदनशील विषयमा केन्द्रित यसप्रकारको महत्त्वपूर्ण सम्मेलन सम्मेलनमा मात्र सीमित पार्नेभन्दा सम्मेलनबाट आएका विषयवस्तु कार्यान्वयन तहमा पुर्‍याउनुपर्ने बताइन् । उनले यसका लागि फिडिक जस्तो संस्था निरन्तर लागिरहेको र आगामी दिनमा पनि सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् ।

भौतिक पूर्वाधार सचिव शर्माले सम्मेलनबाट जलवायु परिवर्तनबाट निम्तिएका समस्या समाधान गर्न र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने सन्दर्भमा उचित सल्लाह र सुझाव आउनेमा आफू विश्वस्त रहेको बताए ।

‘यो सम्मेलनमा उठेका विषय र छलफलबाट आएका निष्कर्ष हामी जस्तो जलवायु परिवर्तन असरबाट जुधिरहेका देशका लागि एउटा मार्गचित्र हुन सक्छ । यो सम्मेलनले नीति निर्माण तहमा हामीलाई पक्कै पनि सहयोग पुर्‍याउने छ,’ शर्माले भने ।

आयोजक स्काएफका महासचिव कमल कार्कीले यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्न पाउनु आफैंमा महत्त्वपूर्ण उपलब्धि भएको र सम्मेलनबाट आउने सुझाव र मार्गनिर्देश सम्बन्धित तहसम्म पुर्‍याएर त्यसको कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताए ।

‘गभर्नेन्स फर क्लाइमेट सक्स’ मुख्य विषयवस्तु रहेको सम्मेलनमा पर्यावरणीय विपद् सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि सात विशिष्टिकृत शीर्षकमा छलफल हुनेछ । विपद् जोखिमले आक्रान्त सन्दर्भमा विश्व समुदायका नेपालमा भइरहेको सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।

सम्मेलनमा फिडिक एसिया प्रशान्त क्षेत्र अध्यक्ष सुधीर धवन, नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह लगायत उपस्थिति छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours