जलवायु परिवर्तनको असर न्यूनीकरणमा साझेदारी गर्न बंगलादेशलाई नेपालको आग्रह

०३ मङ्सिर, बाकु (अजरबैजान) । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गलादेशलाई आग्रह गरेको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान आएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र बंगलादेशका पर्यावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री स्येदा रिजवाना हसनबीच सोमबार भेटवार्ता भएको छ । द्विपक्षीय भेटमा जलवायु परिवर्तनको मुद्दालाई साझा एजेन्डा बनाउन जोड दिइएको हो ।

नेपालले बंगलादेशलाई जलविद्युत् निर्यात गर्न सुरु गरेको उल्लेख गर्दै मन्त्री शाहीले जलविद्युत् सफा ऊर्जा भएकाले, जलवायु परिवर्तन न्यूनिकणको सन्दर्भमा महत्वपूर्ण रहेको धारणा राखे ।

‘भविष्यमा हाम्रो ऊर्जासम्बन्धी सहकार्यलाई थप उचाइमा पुर्‍याउन अग्रसर रहन चाहन्छौँ । बंगलादेश र नेपालबीच जलवायु परिवर्तनको विषयमा धेरै समानता भएकाले यस विषयमा दुई देशबीच सहकार्यको ठूलो महत्व छ’, मन्त्री शाहीले भने ।

जलवायु परिवर्तन वार्तामा तीन देश (बंगलादेश, भुटान र नेपाल)बीचको सहकार्यको पहललाई अगाडि बढाउन तथा प्राविधिक टोलीलाई त्यसको तयारीका लागि अघि बढ्न र छिट्टै मन्त्रीस्तरीय बैठकको समय तय गर्न मन्त्री शाहीले आह्वान समेत गरे ।

‘हाम्रो दुई देशका वार्ता टोलीले लामो समयदेखि सहकार्य गर्दै आएका छन् । यहाँ बाकुमा पनि यसलाई निरन्तरता दिइएको छ । हाम्रा लागि जलवायु विपदसँग जुध्न जलवायु वित्तको आवश्यकता र तापमान वृद्धिलाई १.५ डिग्री सेलसियसमा सीमित गर्ने विषय महत्वपूर्ण छन्’, मन्त्री शाहीले भने ।

बाकु सम्मेलनले यी विषयमा निर्णय गर्दै, विशेष गरी जलवायु वित्तका सन्दर्भमा निष्कर्षमा पुग्ने मन्त्री शाहीले विश्वास व्यक्त गरे ।

कोप–२९ को भेटघाट महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल र बंगलादेशबीच द्विपक्षीय सम्बन्ध तथा सहकार्य आगामी दिनमा झन् प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा बंगलादेशका मन्त्री हसनले नेपालसँगको ऊर्जा व्यापार सम्झौताका लागि सहकार्यको प्रशंसा गर्दै भविष्यमा यसलाई निरन्तरता दिँदै जाने आशा व्यक्त गरिन् ।

‘यसले बंगलादेशलाई ऊर्जा क्षेत्रमा जीवाश्म इन्धनको प्रयोगलाई प्रतिस्थापन गर्दै स्वच्छ जलविद्युत् ऊर्जा प्रयोग गर्न मद्दत गर्नेछ । जलवायु परिवर्तन वार्तामा तथा साझा प्राथमिकतामा सहकार्य जरुरी छ’, उनले भनिन्, ‘नेपाल, भूटान र बंगलादेशबीच समन्वयको आवश्यकता छ । हाम्रा साझा प्राथमिकतामा जलवायु वित्तको मुद्दा राख्नुपर्ने र तापक्रम १.५ भन्दा तल सीमित गर्नुपर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने छ ।’

दक्षिण एशियामा जलवायुजन्य हानि नोक्सानीसम्बन्धी वार्तालाई क्षेत्रीयस्तरमा अघि बढाउने विषयमा समेत छलफल भएको छ । बंगलादेश, भूटान र नेपालबीच मन्त्रीस्तरीय बैठक जति सक्दो चाँडो बंगलादेशमा आयोजना गर्ने सहमति भएको छ । बैठकको समय भने पछि तय गरिने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours