ब्याजदर घट्दा पुराना ऋणीलाई हर्ष न बिस्मात

०१ मंसिर, विराटनगर । कर्जाको ब्याजदर एकल अङ्कमा झरे पनि पुराना ऋणीहरूले बैङ्कको ब्याजदर पुरानै बुझाउनु परेको गुनासो बढेको छ । बैङ्कको आधारदर र ब्याजदर घट्दा पनि कर्जा प्रवाह उत्साहजनक नभइरहेका बेला कतिपय ऋणीहरूले मारमा परिरहेको गुनासो गरेका हुन् । 

तरलता बढेर कर्जाको ब्याजदर एकल अङ्कमा बैङ्कहरू झारिरहेका छन् । असोजयता ब्याजदर घट्दो छ । मङ्सिरका लागि बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ५.९६ प्रतिशत बनाएका छन् । कात्तिकमा ६.१८ रहेको थियो । 

बैङ्कहरूले कर्जाको ब्याजदर घटाए पनि त्यहाँभित्र पुराना र नयाँ ऋणीको मापदण्ड कायम रहँदा पुरानालाई मार परिरहेको उद्योग सङ्गठन मोरङका उपाध्यक्ष विकास बेगवानीको भनाइ छ । उहाँका अनुसार बुझ्नेहरूले त्यसलाई परिमार्जन गराउन दबाब दिने र सुविधा लिइरहेको भए पनि समष्टिगत रूपमा बैङ्कहरूले ब्याजदर घटाउन नचाहेको भनाइ छ । 

नयाँ ऋणीहरूलाई कम ब्याजदरमा कर्जा प्रवाह सुविधा दिइरहेको भए पनि पुरानाको अवस्था उस्तै हुँदा ऋण लिने नभएको बताइन्छ । 

उद्योगी पवन सारडाले ब्याजदर घटाए पनि सरकारको पुँजीगत खर्चको अवस्था कमजोर हुँदा त्यसको पुँजी चलायमान गर्ने अवसर सिर्जना भएको बताउनुहुन्छ । उहाँले बाहिर देखिए जस्तो ब्याजदर घटेको कथा बैङ्कभित्र प्रवेश गरेपछि देख्न नपाइने बताउनुभयो । 

ऋणीबिच नै विभेद हुने अवस्थाले बैङ्कसँगको विश्वाससमेत साहुसँग जति मात्रै रहेको कतिपयको गुनासो छ । औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायीले ब्याजदर र आधारदर न्यून भएको समयमा लिएको ऋण बढ्दा बेहोर्नु परेपछि घट्दासमेत उपभोग गर्न पाउनुपर्ने आवाज उठाउन थालेका छन् । 

एउटै प्रकृतिको कर्जामा एउटै बैङ्कभित्र दुई प्रकृतिको ब्याजदर हुनु मुनासिव नहुने उनीहरूको भनाइ छ । बैङ्कले पुराना ऋणीलाई दिने जवाफमा भने तरलता व्यवस्थापन गर्न कर्जामा प्रिमियम दर कम गरेको दिने गरेका छन् । 

ऋणीहरूले भने आधारदर कायम राखिए पनि ब्याजदर घट्दा सहुलियत पाउनुपर्ने माग छ । नियामक निकायको कमजोर मनोविज्ञानले गर्दा बैङ्करहरूले जहिल्यै पनि एकलकाटे देखिएको आरोप उद्योगी, व्यवसायीको छ । 

You May Also Like

More From Author

+ There are no comments

Add yours